नारायणगढ मुग्लिन सडकखण्ड बन्द : एकैदिन पाँच वर्ष यताकै धेरै पहिरो

पहिरोका कारण नारायणगढ मुग्लिन सडकखण्ड बन्द भएको छ । आज बिहान चितवनको इच्छाकामना गाउँपालिका ६ चोरकिलोमा पहिरो गएकाले अहिले यो सडकखण्डमा कुनैपनि गाडी चलेका छैनन् ।

पहिरो पन्छाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । यो सडकखण्डमा बेलाबेला पहिरो जाने समस्याका कारण यात्रु र चालकले जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता छ । एकैदिन पाँच वर्ष यताकै धेरै पहिरो नारायणगढ मुग्लिन सडक खण्डमा एकैदिन पाँच वर्ष यताकै धेरै ठाउँमा पहिरो खसेको छ ।

सडक खण्डको जुगेडीदेखि मुग्लिनसम्म विभिन्न ठाउँमा सोमबार राती साना ठूला गरी ४८ वटा पहिरो खसेका हुन् । डिभिजन सडक कार्यालय भरतपुरका इञ्जिनियर शिव खनालका अनुसार २०७२ साल यता यति धेरै पहिरो एकै पटक खसेको थिएन । खसेका पहिरोमध्ये ७० प्रतिशतभन्दा बढी नयाँ ठाउँमा खसेका छन् ।

जुगेडीदेखि दासढुङ्गासम्म अहिलेसम्म पहिरो नखसेका ठाउँमा पनि यस पटक पहिरो खसेको छ । मनसुनमा लगातारको पानीले गलेको जमिन ठूलो पानी परेपछि लेदोसहितको पहिरो खसेको थियो । चारकिलो, घुमाउने, सत्र किलो र पाँचकिलोमा ठूलो पहिरो र अरु ठाउँमा साना साना पहिरो खसेका हुन् ।

डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख कृष्णराज अधिकारीले पहिरो खसेलगत्तै हटाउने काम हुँदै आएको बताउनुभयो । यो सडक काठमाण्डौं, पोखरा लगायतका शहरलाई तराईसँग जोड्ने मुख्य सडक हो ।

[sidebar name="button post"]