अनिता धिताल
अचेल छोराछोरीलाई आफ्नै आमाबुवाको सहारा बन्न समेत धौ धौ हुँदै गएको छ । बुढेसकालमा लौरोको भरमा बाँच्नुपर्ने कतिपय आमाबुवाले त गासबास समेत पाउँदैनन् । आमाबुवाको मन छोराछोरीमाथी, छोराछोरीको मन ढुंगामुढामाथी भनेजस्तै वृद्ध अवस्थामा कतिपय आमाबुवा आफ्नै छोराछोरीको बोझ बनेको जस्तो देखिन्छ । तर जसको कोही छैन, उसको भगवान हुन्छ । त्यस्तै भगवानका रुपमा जेष्ठ नागरिकको सहारा बन्नुभएको छ, मित्रसेन दाहाल ।
मैत्रीसेवा आश्रम
काठमाडौंको शंकरापुर नगरपालिका ४ लप्सीफेदीमा मैत्रीसेवा आश्रम छ । सार्वजनिक निजी साझेदारी कार्यक्रम तथा नेपाली सेना कल्याणकारी कोषको सहयोगमा दाहालले ‘मैत्री सेवा आश्रम’ सञ्चालन गर्नुभएको हो । केही नहुने अलिकति हुने र हुने खाने दुबैबर्गका अर्थात निशुल्क तथा सशुल्करूपमा अहिले आमाबुबा मैत्रीसेवा आश्रममा बस्नुहुन्छ । दाहाल उहाँहरुका लागि भगवान बन्नुभएको छ । ओखलढुंगाका दाहाल मिर्गौलाबाट बिरामी हुनुहुथ्यो । मिर्गौला प्रत्यारोपणपछि पाएको जीवन दाहालले समाजसेवामा लगाउनुभएको छ ।

बाल्यावस्था
पूर्वी पहाडी जिल्ला ओखलढुंगाको वरुणेश्वर, लामीडाँडा गाउँमा जयप्रसाद दाहाल र डम्बरकुमारीको कोखबाट वि.सं. २०१९ मङ्सिर ४ गते दाहालको जन्म भएको थियो । मध्यम वर्गीय किसान परिवारमा हुर्कनु भएका दाहालको परिवारमा ६ जना दाजुभाइ र एउटी दिदी हुन्नुहुन्छ । उहाँ काईला छोरा हुनुहुन्छ । सामान्य परिवारमा हुर्कनु भएका उहाँ सानै उमेरदेखि ठूला सपना देख्ने गर्नुहुन्थ्यो । सपना पूरा गर्न मेहनत अपरिहार्य छ भन्ने उहाँले बुझ्नुभएको थियो । आफूले नै केही गर्नुपर्छ भन्ने सोंचले उहाँले ११ वर्षको उमेरमा घर छोड्नुभयो ।
उच्च शिक्षा अध्ययनका २०४० सालमा काठमाडौं आउनुभयो । त्यसपछि काठमाडौं नै कर्मथलो बन्यो । विश्व विद्यालय्बाट उच्च शिक्षाको उपाधि हासिल गर्ने सपना भने पुरा हुन सकेन, तर जीवनको विश्व विद्यालयबाट भने उहाँले ज्ञान, सिप र अनुभव निक्कै हासिल गर्नु भएको छ । उहाँले झापाकी शकुन्तला खतिवडासँग विवाह गर्नुभयो । खतिवडा पनि समाजसेवामा लाग्नुभएको छ । उहाँहरुका दुई छोरा र छोरी छन् । उहाँले आफूसँग भएको पुर्ख्यौली सम्पती पनि समाजसेवामा लगाउनु भएको छ ।
समाजसेवाको बाटोमा लाग्दा
त्यसो त राजनीति र साहित्यमा पनि चासो राख्ने दाहाल ओखलढुंगामा रहदा राजनीतिमा बढी सक्रिय हुनुभयो । तर उहाँको दुवै मिर्गौलाले काम गर्न छोडे । त्यसपछि उहाँले मिर्गौला प्रत्यारोपण गर्नुपर्यो । दाहाल भन्नुहुन्छ, ‘जब मैले मिर्गौला प्रत्यारोपण गरँे, त्यसपछि मानव जीवनको महत्व झन् नजिकबाट बुझ्ने अवसर पाए । मानिस सर्वश्रेष्ठ प्राणी हो, हामीले नै समाज परिवर्तन गर्ने हो । समाजमा आफू मात्र बाँच्ने होइन, अरुलाई पनि बचाउने हो ।’
उहाँले भनेजस्तै अरुलाई बचाउन आश्रमको योजना अगाडी बढ्यो । आज पनि धेरै आमाबुवाले दुःख पाएको देखिन्छ, भेटिन्छ अनि भोलीका दिनमा पनि सबैभन्दा धेरै आमा बुवाहरुले दुःख पाउनु हुन्छ । किनभने सम्मानको संस्कार, आचरण र नैतिक शिक्षा हराउँदै गएको छ । पहिला एउटै परिवारमा सबै मिलेर बस्थे, अहिले अलग्गै बस्न रुचाउँछन् । उमेर ढल्केपछि आमाबुवालाई पाल्ने संस्कार हराउँदै गएको छ ।
जेपी प्रतिष्ठान
आमाबुवालाई पाल्ने संस्कार हराउँदै गएपछि आमाबुवाले छोराछोरीको माया, आदर र मानसम्मान पाउन सक्नुभएको छैन । ती बुढाबुढी भएका आमाबुवाहरुले एक्लोपन महसुस गरिरहनु भएको छ । उहाँ भन्नुहुन्छ, ‘अहिलेको यस्तो परिवेश देख्दा मलाई आमाबुवालाई राख्ने सुरक्षित र सुविधासहितको आश्रम बनाउने सोंच आयो ।’ नेपालमा ज्येष्ठ नागरिक आश्रम भनेपछि गरिब दुःखी बस्ने बुझाई छ । दाहालले यो बुझाई परिर्वतन गर्नेगरी काम थाल्नुभयो ।
छोराछोरी भएर पनि आमा बुवा हेर्ने समय नभएकाहरुको लागि अहिले एउटा विकल्प जेपी प्रतिष्ठान बनेको छ । आश्रममा मन्दिर, अस्पताल, पुस्तकालय लगायतका सम्पूर्ण सुविधा सम्पन्न भएको आधुनिक नमुना आश्रमको परिकल्पना अनुसार ‘जेपी प्रतिष्ठान मैत्री सेवा आश्रम’ अगाडी बढेको दाहाल बताउनुहुन्छ । दाहालले आफ्नो पिताको नाममा यो प्रतिष्ठानको स्थापना गर्नुभएको हो ।

प्रतिष्ठानको जन्म र अहिलेको अवस्था
सरकार र नेपाली सेनाको सहकार्यमा काठमाडौं शंखरापुर नगरपालिकास्थित लप्सीफेदीमा २०७३ सालदेखि प्रतिष्ठान सञ्चालनमा छ । आश्रम निर्माणको पहिलो चरणको काम सम्पन्न भएको छ । आश्रमको लागि एक २५ करोड भन्दा बढीको भौतिक निर्माणको काम भएको र अहिले बनाउनु पर्यो भने १ अर्बमा पनि नबन्ने दाहालले बताउनुभयो ।
प्रतिष्ठानमा सरकारसँगको साझेदारीबाट १० वटा घर बनेका छन् । नेपाली सेना कल्याणकारी कोषको सहयोगमा १० वटा र प्रतिष्ठानको आफ्नै पहल र डोनेसनबाट १३ घर गरी जम्मा ३३ घर निर्माण भइसकेका छन् । दाहालको भने करिब ५ सय घर बनाउने योजना छ ।
जसको जीवनमा सुख हुँदैन, जो शारीरिक रुपमा कमजोर हुन्छन्, जसको पालन पोषण गर्ने घरमा कोही हुँदैनन्, जोसँग सन्तान र सम्पति छैन्, उहाँहरुलाई ल्याएर आश्रममा राख्ने गरिएको छ । दाहाल दिनभर आश्रममा आमा बुवाहरुलाई खुवाउने, उहाँसँग खेल्दै रमाउने गर्नुहुन्छ ।
आश्रममा स्थायी रुपमा बस्नको लागि ६० वर्ष पूरा भएको हुनुपर्छ । प्रतिष्ठानका लागि आवश्यक पर्ने धान, अन्नबाली, तरकारीका साथसाथै गाईपालनबाट प्रशस्त रुपमा दुग्धजन्य पदार्थ आफैँ उत्पादन गरी उपयोग गर्दै आएको मित्रसेन दाहाल बताउनुहुन्छ ।

राजनीति सहित अरु क्षेत्रको यात्रा
दाहाल १३ वर्षको उमेरदेखि ने.वि.संघको माध्यमबाट राजनीतिमा प्रवेश गर्नु भएको थियो । उहाँले विसं २०३६ सालको विद्यार्थी आन्दोलन र जनमत सङग्रहमा सक्रिय सहभागिता जनाउनु भयो । यसका साथै नेपाली काङग्रेसद्धारा सञ्चालित २०४२ सालको सत्याग्रह र प्रजातान्त्रिक आन्दोलनको क्रममा जेल जिवन समेत भोगिसक्नु भएको छ । दाहाल भन्नुहुन्छ, ‘नेपालको सन्र्दभमा राजनीतिक नीतिको पनि नीति हो । यो पनि एउटा समाज सेवा नै हो ।
तर हाम्रो देशमा सही मान्छेलाई, सही स्थान दिइएन, आफ्ना मान्छेको खोजी भयो, जसको जे क्षमता छ त्यहि स्थान दिनुपर्ने तर दिइएन । राजनीतिक आफ्नो स्वार्थ, लोभ, लालच र पदको कारण बिग्रिएको छ, जनतालाई जे दिनुपर्ने हो, त्यो दिन सकेको छैन । यसकारण म राजनीतिमा निष्क्रिय छु ।’ उहाँले १३ वर्षको उमेरदेखि निस्वार्थ भावले राजनीति गर्नुभयो तर आफूले सोचेको जस्तो सन्तृष्टि भने पाउनु भएन ।
दाहाल राजनीतिबाट भन्दा पनि समाजसेवाबाट नै सन्तृष्टि भएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, राजनीतिमा सन्ततीको लागि निस्वार्थ भावले त्याग पूर्ण राजनीतिको आवश्यकता छ । अबको नेतृत्वमा युवा पुस्ताको खाँचो छ । अहिलेको समयमा राजनीतिमा आधुनिक प्राविधि बढी जोड दिएर अगाडि बढ्नु पर्ने देखिन्छ ।
उहाँले विज्ञापन, प्रेस र सहकारी समेत सञ्चालन गर्नुभएको थियो । यसका साथै अन्य संघसस्थाहरुमा पनि उहाँ आवद्ध हुनुथ्यो । तर धेरै समय समाजसेवामै बितेको दाहालको भनाई छ ।
साहित्यिक यात्रा
दाहाल सानो उमेरदेखि लेखनमा रुची राख्नुहुन्थ्यो । उहाँले कथा, कविता, निबन्ध, विचार र चिन्तनमा कलम चलाउनु भएको छ । उहाँको पहिलो पुस्तक २०४९ सालमा प्रकाशित भएको थियो । यस पछि लेखन यात्रा निरन्तर छ । अहिले पनि हरेक दिनको २ घण्टा लेखनमा समय दिइरहनु भएको छ । उहाँको अहिलेसम्म १८ वटा पुस्तक प्रकाशित भएका छन् ।
अबको योजना
राजनीति, साहित्य, समाजसेवा क्षेत्र विभिन्न छन् । तर अब सक्रिय रुपमा समाजसेवालाई नै निरन्तरता दिने सोंच रहेको दाहाल सुनाउनुहुन्छ । समाजमा रहेका हरेक कुरीति, कुसंस्कृति परिर्वतन गर्नेे उहाँको चाहना छ । जेपी प्रतिष्ठान मैत्री सेवा आश्रममा रहनु भएका आमाबुवाबाट प्राप्त सिकाइबाट नै समाजको अनुसन्धान गर्ने र अहिलेको समाजको बारेमा पनि अध्ययन गर्ने उहाँको योजना रहेको छ ।









