काठमाण्डौ उपत्यकामा भित्रिने नाकाहरुमा गाडीको अनुगमन र स्वास्थ्य मापदण्ड पालना गरे नगरेकोबारे जाँच फितलो बनेको छ ।
चार महिना लामो लकडाउनको अन्त्य भएपछि गरिएको निषेधाज्ञा पनि खुकुलो भएसँगै नाकामा गाडीको जाँच फितलो बनेको हो । खाद्यान्न, तरकारी र फलफुल, दुग्धजन्य पदार्थ, मासुजन्य सामग्री बोकेका गाडीहरु मात्रै भित्रिन दिने भनेपनि जाँच प्रभावकारी हुन सकेको छैन ।
नागढुंगा नाका भएर भित्रिने गाडीहरु प्रहरीले जाँच गर्दा स्वास्थ्य सुरक्षाका मापदण्ड नै पालना नगरेको भेटिएको छ । त्यस्तै गाडी चालकका कागजपत्र जाँच गर्दा दुरी समेत कायम नगरेको पाइएको हो । काठमाण्डौ उपत्यका नगरपालिका मेयर फोरमले कोरोना सङक्रमितको संख्या दिनदिनै बढ्दै गएकाले नाकामा कडाई गर्न आग्रह गरेपनि त्यसो हुन सकेको छैन ।
तर अत्यावश्यक मालबाहक गाडी मात्रै उपत्यका भित्रिन दिइरहेको प्रहरीको दावी छ । लामो दुरीका सार्वजनिक गाडी भने चलेका छैनन् । यस्तै काभ्रेको साँगा नाकामा गाडीको चाप कम देखिएको छ ।









