कागेश्वरी मनोहरा नगर खेलकुद विकास समिति र मुलपानी तेक्वान्दो डोजाङको संयुक्त आयोजनामा प्रथम कागेश्वरी मनोहरा भर्चुअल तेक्वान्दो राष्ट्रिय खुला पुम्से प्रतियोगिता अक्टोबर १२ तारिखदेखि हुने भएको छ ।
दुईदिने प्रतियोगिता सञ्चालन गर्न अशोक खड्का, विक्रम खड्गी, मीन न्यौपाने, नोर्बु लामा र हीराबहादुर थापालाई निर्णायकमा चयन गरिएको छ ।
प्रतियोगितामा पुरुषमा ६ र महिलामा ५ गरी ११ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक समितिका अध्यक्ष एवं प्रतियोगिता संयोजक रामप्रसाद पुडासैनीले जनाएका छन् । हरेक स्पर्धामा शीर्ष तीन स्थान हात पार्ने खेलाडीले क्रमशः ३ हजार, २ हजार र १ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।
यस प्रतियोगितामा ४४ टिमबाट २०६ जना खेलाडीहरुले विभिन्न उमेर समूहमा प्रतिस्पर्धा गर्ने भएका छन्। प्रतिगोगितामा साउथ एसियन गेमसका मेडलिस्टदेखि नेपाल प्रहरी, नेपाली सेना र सबै प्रदेशबाट टिम दर्ता गरिसकेका छन्।
‘मोस्ट पपुलर प्लेयर’ लाई नगद ५ हजारसहित पुरस्कृत गरिने छ । यो विधाको चयन गर्न हरेक खेलाडीको भिडियोलाई यु ट्युबमा राखिने छ । भिडियो बढीमा ९० सेकेन्डको मात्र हुनु पर्ने छ । ति मध्ये सर्वाधिक हेरिएको खेलाडीको भिडियोलाई ‘मोस्ट पपुलर प्लेयर’ अवार्ड प्रदान गरिने छ ।
कागेश्वरी मनोहरा नगरपालिका र युनिटी तेक्वान्दो डोजाङ, हङकङको प्रायोजनमा हुन लागेको प्रतियोगितामा सहभागी हुन इच्छुक खेलाडीले अक्टोबर ५ तारिखसम्म नाम दर्ता गराइसक्नु पर्ने छ ।
नाम दर्ता गराएका खेलाडीले भिडियो भोलि ७ बजे सम्म पठाउनु पर्ने र ७ बजे भन्दा पछि आएका भिडियो मान्य नहुने निर्णायक अशोक खड्काले बताउनुभयो।









