कोरोना कहरका बीचमा पनि लक्ष्यभन्दा बढी राजश्व सङ्कलन

करदाता सेवा कार्यालय जुम्लाले यस वर्षको साउनमा लक्ष्यभन्दा बढी राजश्व सङ्कलन गरेको छ । विश्वव्यापीरुपमा फैलिएको कोरोना कहरका बीचमा पनि राजश्व सङ्कलनमा बृद्धि भएको छ ।

सो महिनामा लक्ष्यभन्दा रु १ करोड १९ लाख ८० हजार बढी राजश्व सङ्कलन गर्न सफल भएको कर अधिकृत गोपालबहादुर थापाले बताउनुभयो । रु ३ करोड २१ लाखको लक्ष्य राखिएकोमा रु ४ करोड ४० लाख राजश्व सङ्कलन भएको कर अधिकृत थापाले बताउनुभयो ।

जसमा मूल्य अभिबृद्धि करतर्फ रु १ करोड ४२ लाख ६९ हजार, आयकरतर्फ रु १ करोड २२ लाख ७४ हजार, अन्तःशुल्क रु १ करोड ३२ लाख ९ हजार, पारिश्रमिक आयकर रु ६६ लाख ५१ हजार र २८ लाख ६९ हजार सामाजिक सुरक्षा करलगायत विभिन्न १७ वटा शीर्षकबाट राजश्व सङ्कलन भएको कर सेवा कार्यालय जुम्लाले जनाएको छ ।

कर सेवा कार्यालयका अनुसार गत आर्थिक वर्षमा रु २३ करोड २२ लाख ५५ हजार ४०१ राजश्व सङ्कलन गरेको छ । लक्ष्य नै नतोकिएर गत आवको असार अन्तिम सम्ममा रु २३ करोड बढी राजश्व सङ्कलन भएको हो ।

[sidebar name="button post"]