सप्तरीको राजविराजस्थित मुख्य बजारको गणेश स्टोरबाट नगदसहित साढे पाँच लाख मूल्य बराबरको सामान चोरी गर्ने एक गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।
सिसीटिभी क्यामेराको फुटेजका आधारमा अनुसन्धान गर्दा चोरीमा संलग्न चार जनालाई रु चार लाख मूल्य बराबरको नगद र सामानसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा राजविराज नगरपालिका–६ का सैनी भनिने सनिया मण्डल, उनकी दिदी राजविराज–४ की ज्योतिकुमारी मण्डल सहनी, सोही ठाउँका समिम अन्सारी र सप्तरीको रुपनी गाउँपालिका– ४ का लाल मोहम्मद राइन रहेका छन् ।आज जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलनमार्फत उनीहरुलाई सार्वजनिक गरेको हो ।
गणेश स्टोर पसलभित्र प्रवेश गरी चोरी गर्ने सनियालाई बाहिर बसेर मानिस आवतजावतको सूचना दिन उनका साथी राइनले सहयोग गरेका थिए । सनियाकी दिदी ज्योतिले चोरीका सामान र रकम केही आफ्नो डेरामा र केही राजविराज–२ स्थित आफ्नो मदिरा पसलमा लुकाएर राखेकी थिइन् । उनकै पसलमा काम गर्ने समिमले चोरीको रकम कपडामा बेरी खाल्डो खनी माटोमा गाडेर लुकाएका थिए ।
सोमबार बिहान सनियाले गणेश स्टोर अगाडि रहेको सोलारको पोलबाट घरमाथि चढेर भुई तल्लामा रहेको पसलमा प्रवेश गरी रु चार लाख नगद र साढे एक लाख मूल्य बराबरको मोबाइल रिचार्ज कार्ड चोरी गरेका थिए ।जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक राजेन्द्र धमलाका अनुसार चोरीको खबर पाएलगत्तै घटनास्थल पुगेको प्रहरीले तत्कालै अनुसन्धान तीव्र बनाएकाले छिट्टै सफलता हात लागेको थियो ।
आरोपितलाई प्रहरीले आरोपितलाई पक्राउ गरेसँगै उनीहरुको घर र पसलबाट ५० हजारको रिचार्ज कार्ड र रु तीन लाख ६० हजार नगदसमेत बरामद गरेको जनाएको छ ।









