हेटौँडामा रु २३ करोडमा सडकका निर्माण, विकास तथा स्तरोन्नतिको प्रक्रिया शुरु
वाग्मती प्रदेशको यातायात पूर्वाधार निर्देशनालयले रु २३ करोड ४० लाखको लागतमा हेटौँडा उपमहानगरपालिकाअन्तर्गत सडकको निर्माण, विकास तथा स्तरोन्नतिको प्रक्रिया शुरु गरेको छ ।
निर्देशनालयका अनुसार उपमहानगरपालिका क्षेत्रका विभिन्न वडाका १२ किमी ९५८ मिटर सडकको निर्माण गर्न बोलपत्रसमेत आह्वान भइसकेको छ । उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतसहित जनप्रतिनिधिको विशेष अनुरोधमा सडक निर्माण प्रक्रिया अगाडि बढेको बताइएको छ ।
हेटौँडा–२ मानस चोकदेखि मनकामना चोक, सोही वडाको क्याम्पस चोकदेखि वनस्खण्डीसम्म, वडा नं ४ को हुप्राचौरको सम्पूर्ण अधुरो काम, वडा नं ५ को चिसोपानी चोकदेखि मिलन चोकसम्म, वडा नं ६ रगङ्शाला चोकदेखि हरियाली खहरे चोकसम्म, हरियालीचोकदेखि वडा नं ८ को सीमासम्म सडकको स्तरोन्नति गरिनेछ ।
त्यस्तै हेटौँडा ८ को निमचोकदेखि पहिलो खहरेसम्म १० को टिसियन रोड र भुटनदेवी रोड, ११ को थानाभ¥यागङरोड, १२ को ठाडोबाटो भोर्ले, १४ को घलान तथा १५ को चक्रपथदेखि स्मृतिभवन सम्मको बाटोको निर्माण र स्तरीकरण प्रक्रिया अगाडि बढेको हो । वाग्मती प्रदेशको राजधानीसमेत रहेकाले यसलाई व्यवस्थित र सुरक्षित बनाउन लागिएको बताइएको छ ।