काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–९ नयाँ बस्तीमा रहेको चण्डेश्वरी फ्लोरिकल्चरमा फार्मका फूलले बजार नपाएपछि व्यवसायी चिन्तित बनेका हुन् ।
उत्पादन भएर बजारीकरण गर्ने बेलामा कोरोना भाइरस महामारीका कारण बन्दाबन्दी भएपछि फूल ग्रीन हाउसमा नै सुकेर गएको फार्म सञ्चालकले बताउनुभयो । बनेपाका युवा व्यवसायी विकास वादे, प्राणनाथ कायस्थ र कान्छा मानन्धरले शुरु गरेको पुष्प व्यवसाय फस्टाएपनि बेच्ने बेलामा कोरोनाको महामारीसँगैको बन्दाबन्दीले फूल सुकेर गएको बताउनुभयो ।
काभ्रेपलाञ्चोकमा उत्पादन भएको फूलको माग काठमाडौँको बजारमा राम्रो भएको कारण पछिल्लो समयमा जिल्लामा फूल उत्पादन गर्ने पुष्प व्यवसायी बढेका थिए । फार्म सञ्चालक प्राणनाथ कायस्थ भन्नुहुन्छ, “अरुले खेती गरेको देखेपछि साथी मिलेर गरेको खेती राम्रो भएको थियो, बन्दाबन्दीले बजारसम्म लान पाइएन”, उहाँले भन्नुभयो, “लगानी गर्नुमात्रै भयो ।” तीन जना मिलेर करिब ४० लाख लागतमा १२ वटा ग्रीन हाउस बनाएर खेती गरेको तर बजार लान नपाउँदा घाटा व्यहोर्नुपरेको अर्का सञ्चालक विकास वादेले बताउनुभयो ।
बन्दाबन्दी असार र साउनमा डेढ लाखसम्मको फूल बेचेको भएपनि त्यसले ज्याला समेत नउठेको उहाँले बताउनुभयो । एकातिर बजार नपाउनु अर्कोतिर अलिअलि गरेर बेचेको फूलपनि बजारभाउभन्दा आधा मूल्यमा बेचेको उहाँले बताउनुभयो । बन्दाबन्दी नभएको भए यसबीचमा पाँच ÷छ लाखको फूल बिक्री हुनेथियो ।
आम्दानी लिन नपाएपनि वार्षिक डेढलाख भाडा तिर्नुपरेको उहाँहरुले बताउनुभयो । “लाखौँको लगानी गरेर शुरु गरेको खेती उत्पादन भएर बजार नपाउँदाको जस्तो पीडा अरु छैन, आगामी दिनमा सरकारले सहुलीयत ऋण र अनुदान व्यवस्थापन गरिदिएको खण्डमा यो व्यवसायलाई निरन्तर अगाडि बढाउन सहज हुनेछ”, उहाँहरुले भन्नुभयो । उक्त फार्ममा जर्वेरा, पिकक्, जिप्सी, सयपत्री र रजनीगन्ध(ट्युरोज) लगायतका फूल छन् ।
अर्का पुष्प व्यवसायी सरराज उप्रेतीले यस वर्ष उत्पादन भएको फूल बिक्री गर्न नपाएरै सुकेर गएको बताउनुभयो । दुई वर्ष अगाडि श्री प्राणनाथ फ्लोरा फार्म स्थापना गरी शुरु गरेको फूल खेतीले एक वर्ष अगाडि सयपत्री फूल बेचेर मात्रै सात लाखसम्म बिक्री गरेको भएपनि यस वर्ष टनेलभित्र नै ओइलिएर गएको उप्रेतीले बताउनुभयो ।









