Ad #144479

अनिता धिताल

१७ भाद्र, काठमाडौँ । कोरोनाले चौतर्फी असर पारेको छ । ठाउँ ठाउँमा लकडाउन र निषेधाज्ञा छ । मानिसहरु घरमै बस्न बाध्य छन् । कतिपयको रोजगारी र आयआर्जनको माध्यम गुमेको छ ।

के गरौ, कसो गरौ भनेर मनमा बेचैन भएको छ । यस्तो बेलामा समेत काठमाण्डौको फुयाल गाउँका प्राणनाथ फुयाललाई भने भ्याइनभ्याई छ । उहाँको कृषि फार्म र दुध संकलन तथा वितरण केन्द्र आयआर्जन र रोजगारीको माध्यम बनेको छ । कोरोनाले असर पारेको छ, तर अरु क्षेत्रमा जस्तो चौपट्रटै असर भने पारेको छैन ।

कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर २ आलापोट फुयाल गाउँमा उहाँको निजानन्द दुध डेरी छ ।

दुध सङकलनको क्षेत्र

कोरोना भाइरसको जोखिम नियन्त्रण र रोकथामको लागी गरिएको लगडाउन र अहिलेको निषेधाज्ञाले दुग्धजन्य बस्तुको किनमेलमा समेत असर पारेको छ । किसानहरुको दुध संकलन गर्न समस्या छ । कतै बिक्रि नभएर खेर पनि गएको छ । कसैले दुधबाट बन्ने अरु खाद्यबस्तु बनाएका छन् ।

तर अरु क्षेत्रमा जस्तो निराशै हुनुपर्ने गरी दुध उत्पादन, संकलन र वितरणमा असर नपारेको फुयाल बताउनुहुन्छ । उहाँ आफैले गाई फार्म सञ्चालन गर्नुभएको छ । आफैले पालेका गाईले दिने दुध र स्थानीय अरु किसानहरुबाट सङकलन भएको दुध जम्मा गरेर बिक्रि वितरण गदै आउनुभएको छ । उहाँको फार्ममा अहिले २४ वटा गाई रहेका छन् । गाई फार्ममा काम गर्नको लागी दुई जना कामदार छन् ।

उहाँ आफै र श्रीमतीले पनि काममा सघाउनुहुन्छ । साथै काठमाण्डौ चाबहिल गणेशथान अर्को डेरी पनि सञ्चालन छ । गणेशथानमा श्रीराम डेरी भने साथीको सहकार्यमा सञ्चालन हुँदै आएको छ । सङकलन भएका दुध विशेष गरी स्थानीय बजारमा र श्रीराम दुध डेरीमा खपत हुँदै आएको छ ।

दुधको दैनिक सङकलन

डेरीमा स्थानिय किसानहरुबाट र आफ्नै गाई फार्मबाट उत्पादन हुने दुध दैनिक दुई सय लिटरसम्म संकलन हुने गरेको छ । यसरी सङकलन भएको दुध किसानहरुबाट ६० रुपियाँमा खरिद गर्ने र बजारमा ७०/८० रुपैयाँसम्ममा बिक्री वितरण हुने गरेको छ । सुरु सुरुमा सरकारले दुधजन्य पदार्थ ओसारपसार गर्ने ढुवानीलाई छुट दिएपनि चेकजाचँ हुने भएकाले व्यवस्थापन गर्न नसक्दा भएको थियो ।

कोरोना भाइरस सक्रमण जोखिमका कारण दुध बिक्री वितरण गर्न डर लाग्यो । तर अहिले सामाजीक दुरी कायम गरी सेनीटाइजर, माक्स पंन्जाको प्रयोग गरेर सकेसम्म व्यवस्थित रुपमा सङकलन तथा बिक्रि वितरण हुँदै आएको छ ।

लकडाउनको असर

अहिले कोरोना महामारीको कारण पहिलाको भन्दा निकै कम दुध बिक्री वितरण हुने गरेको छ । बाहिरबाट विभिन्न काम र अध्ययनका लागि काठमाण्डौ आएर बस्नेहरु धेरैजसो अहिले घरगाउँ गएका छन् । उनीहरुले बढि मात्रामा दुध उपभोग गर्थे र त्यसैअनुसार बिक्रि हुने गरेको उहाँको अनुभव छ ।

तर अहिले लकडाउनको कारण सबै आआफनो जिल्लामा गएका र बस्नेहरुले पनि आर्थिक अभावका कारण खरिद गर्न नसकेकाले केहि असर छ । स्थानिय बासिन्दाहरुले परम्परादेखि नै आफुलाई खान पुग्ने दुध आफैले उत्पादन गदै आएका कारण निकै कम मात्रामा बिक्रि हुने गरेको उहाँ बताउनुहुन्छ ।

दानामा महङगी र अभाव

गाईवस्तुलाई खुवाउने दाना अहिले निक्कै महँगो भएको छ । दानाको भाउ महँगो भएका कारण उपभोक्तालाई दुधजन्य पदार्थ समेत महँगोमा बिक्री गर्नुपर्ने अवस्था छ । उहाँ भन्नुहुन्छ,‘दानालाई भन्दा पनि उन्नत खालको घासँपातलाई जोड दिन सके सहज हुने थियो ।

स्थानीय स्तरमा उत्पन्न हुने अन्नपाँतहरु र खानपिनबाट खपत भएर बाँकी रहेका खाद्यान्नहरु सबै किसानहरुको घरबाट सङकलन गरी उचित मोल दिएर त्यसलाई दाना बनाउन सकियो भने किसानहरुलाई दानाको अभाव र महङगी खेप्नुपदैन थियो । यसका लागि सरकारले केही प्रोत्साहन दियो भने सहज हुने उहाँ बताउनुहुन्छ ।

दुध संकलन र वितरणमा ७ वर्षको अनुभव

दुध संकलन र वितरणमा लगभग सात वर्ष काम गरेको प्राणनाथ फुयालको अनुभव छ । सुरु सुरुमा बजार नहुदाँ केहि कठिन भयो तर यो अत्यावश्यक भित्रपर्ने भएकाले यस क्षेत्रमा खासै नोक्सान भने भएन । उहाँ भन्नुहुन्छ,‘जे काम गर्दा पनि सुरुमा कठिन त हुन्छ नै, अहिले दुई सय लिटर संकलन भएको दुध बेच्दाँ ६० हजार सम्म महिनामा आम्दानी गर्दछु । दुध मात्र नभएर दुधबाट बन्ने दहि, मोही र पनिर पनि बिक्री हुन्छ ।’

घर गाउँमै रोजगारी : कृषि अनिवार्य

दुध र दही बजारमा खपत हुन्छ । दुध खपत नभए अरु चीजबस्तु बनाउन सकिन्छ । यो पेशा व्यवसायलाई व्यवसायीक ढङगले अगाडी बढाउदा नोक्सान बेर्हाेनु पदैन । यस क्षेत्रबाट राम्रो कमाइ हुन्छ । व्यवसाय थाल्दै गर्दा बजार र क्षेत्रलाई ख्याल गर्नुपर्छ । अब अहिले कतिपय विदेशबाट फर्कनुभएको छ, नेपालमै रहेका पनि बेरोजगार बन्नुभएको छ, उहाँहरुले यसलाई रोजगारको माध्यम बनाउन सक्नुहुन्छ ।

कृषि क्षेत्रमा व्यवसायिक रुपले लाग्न चाहानेहरुलाई म प्रोत्साहान दिन्छु । अहिले थुप्रै साथीभाईहरुले पनि यस व्यवसाय सुरु गर्न थाल्नुभएको छ । उहाँहरुलाई पनि मैले सक्दो सहयोग गरीरहेको छु । यस क्षेत्रमा लाग्नेहरुलाई सरकारले पनि विभिन्न अनुदान र कार्यक्रमहरु गराउदै आएको छ भने बैङकहरुले पनि सस्तो दरमा क्रण उपलब्ध गराई रहेका छन् । अझै पनि सरकारले पनि दुध उत्पादनको क्षेत्रमा विशेष ध्यान पुयाउनु पर्ने देखिन्छ ।

कृषि प्रधान देशमा कृषि क्षेत्रलाई प्रथमिकतामा राखेर काम गर्न सके देशको विकास हुन्छ । मनिसहरु बेरोजगारी बस्नुपर्ने अवस्था समेत आउदैन । कृषि क्षेत्र नै अत्यावश्यक भित्रपर्ने भएकाले यसको बजार कहिले पनि बन्द हुदैन । त्यसकारण हामीले यस क्षेत्रलाई कहिले पनि छोड्नु हुँदैन ।