८ भदौ, काठमाडौं । विदेशमा रहेका नेपालीको उद्धारका लागि मंगलबारबाट पुनः सुरु चार्टर्ड उडान हुने भएको छ ।
मंगलबारबाट लागू हुने गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नयाँ तालिका तय गरेको छ ।
सरकारले विभिन्न देशमा अलपत्र नागरिकहरुलाई उद्धार गरी होटल क्वरेण्टीनमा ७ दिन राख्ने निर्णय गरेको थियो । कोरोना संक्रमणको दर कम भएका र पीसीआर परीक्षण सहज भएका देशबाट आउनेले पीसीआर रिपोर्ट नेगेटिभ भएपछि मात्रै नेपाल ल्याइने र उनीहरुले होटल क्वरेण्टीनमा बस्नुनपर्ने छ ।
पीसीआर अनिवार्य गरिएका देशहरुबाट कोरोना पोजेटिभ भएको वा परीक्षण नगरेको व्यक्तिलाई ल्याइए सम्बन्धित एयरलाइन्स कम्पनीले सबै यात्रुहरूको क्वरेण्टीन खर्च व्यहोर्नुपर्ने छ ।
अब नेपाल आउने सबै यात्रुको अनिवार्य पीसीआर रिर्पोट हुनुपर्छ । पीसीआर नभएका यात्रु ल्याएमा उनीहरुलाई क्वारेन्टिनमा राखेको खर्च एयरलाइन्सले नै बेहोर्नुपर्छ ।
वायुसेवा कम्पनीले विदेशस्थित नेपाली कूटनीतिक नियोगसँगको सहकार्यमा मात्र यात्रु ल्याउन पाउने छन् । नेपाल आइसकेपछि अब सबै यात्रु अनिवार्य ७ दिन होटेल क्वारेन्टिनमा बस्नु पर्छ । यसरी बस्दाको खर्च आफैंले बेहोर्नुपर्छ । दिनमा ५ सयजना मात्रै भित्रिन अनुमति दिइनेछ ।
सरकारले १६ भदौबाट भने नियमित उडान गर्ने निर्णय गरिसकेको छ । त्यसअगाडी ८ दिन उद्धार उडान हुन लागेको हो ।












