Ad #144479

काठमाडौ उपत्यका नगरपालिका मेयर फोरमले पालिकाले दिने अत्यावश्यक बाहेकका सबै सेवा भदौ १५ गते सम्म बन्द गर्ने निर्णय गरेको छ ।

उपत्यका मेयर फोरमको काठमाडौंमा बसेको बैठकले काठमाडौं उपत्यकामा कोभिड १९ संक्रमणको अवस्था अझै कम नभएकाले अत्यावस्यक बाहेकका सबै सेवा बन्द गर्ने यसअघिको निर्णयलाई भदौ १५ गते सम्म निरन्तरता दिने निर्णय गरेको हो । यसअघि साउन २६ गतेको बैठकले भदौ ९ गते सम्म अत्यावस्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको थियो ।

उपत्यकाभित्र संक्रमणको दर अझैपनि कम नभएकाले अत्यावस्यक बाहेकका सबै सेवा भदौ १५ गते सम्म बन्द गर्ने निर्णय भएको मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले बताउनुभयो ।

यसबाहेक कोभिड १९ संक्रमित व्यक्तिको कन्टयाक्ट ट्रेसिङमा परेका सबै मानिसको पीसीआर परिक्षण स्वास्थ्य मन्त्रालय अन्तर्गतको ‘केस इन्भेष्टिगेसन एण्ड कन्टयाक्ट ट्रेसिङ’ (सिआइसीटी) सँगको सहकार्यमा सम्पन्न गर्ने निर्णय पनि गरेको छ ।

उपत्यकाभित्र संक्रमित व्यक्तिको सम्पर्कमा आएका सबै मानिसहरुको पीसीआर परीक्षण गर्न आवस्यक रहेको काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले बताउनुभयो । अहिले संक्रमित व्यक्तिको सम्पर्कमा आएका व्यक्तिहरुको पीसीआर परीक्षण नभएकाले स्वास्थ्य मन्त्रालयको टिमसँग समन्वय गरी क्लोज कन्ट्याक्टमा रहेका सबै मानिसहरुको एकपटक परीक्षण गर्ने निर्णय गरिएको बताउनुभयो ।

काठमाडौं उपत्यकामा अहिले संक्रमणको दर बढ्दै गएको छ । त्यसैले पनि फोरमले निषेधाज्ञालाई केही समय थप गर्न सुझाव दिदै पीसीआर परीक्षणलाई बढाएर संक्रमणको स्थितिलाई नियन्त्रणमा लिने योजना बनाएको हो ।