धुलिखेल अस्पतालमा स्वास्थ्य परीक्षण गराएर फर्किएकी भक्तपुरकी एक महिलालाई कोरोना सङ्क्रमण भयो । निषेधाज्ञा जारी हुनुभन्दा केही दिन अगाडि धुलिखेल अस्पताल पुगेर आएकी उनी त्यसबाहेक कतै गएकी छैनन् ।
धुलिखेल अस्पतालका विरामी, नर्स, डेन्टल विभागका कर्मचारी, स्थानीय व्यापारीलाई कोरोना सङ्क्रमण भएपछि अस्पताल सिल गरिएको छ । धुलिखेल अस्पताल आउनेजाने गर्नेहरु धेरै भएकाले यहीँबाट सङ्क्रमण समुदायमा फैलिने त्रास बढेको धुलिखेल अस्पतालमा उपचार गराएर फर्किएको कोटेश्वर निवासी एक सङ्क्रमित बताउनुहुन्छ ।
कोभिड र कोभिड नभएका बिरामीको एउटै अस्पतालमा उपचार गर्दा र अस्पतालले व्यवस्थापन राम्रोसँग नगर्दा अस्पतालबाटै सङ्क्रमण फैलिने त्रास भएको कर्मचारी नै बताउँछन् ।
धुलिखेल अस्पताल अगाडिका एक व्यापारी भन्छन्, “अस्पतालका कर्मचारी पनि यहीँ आएर खान्थे, बिरामी कुरुवा पनि यही आएर खान्थे, अस्पतालले आफ्ना कर्मचारीको सुरक्षामा ध्यान नदिँदा यहाँको समुदायमा कोरोना फैलियो ।”
अस्पतालमा उपचारका लागि साँगाबाट गएका रामनाथ श्रेष्ठका अनुसार अस्पतालमा बाहिर ज्वरो नाप्नेबाहेक अस्पतालले अरु केही गर्न नसकेको गुनासो गर्नुहुन्छ ।
अस्पतालमा एक बिरामी एक कुरुवा गर्न नसकेको, अस्पतालका वार्डदेखि दाँतको उपचार गर्ने ठाउँसम्म बिरामीसँग प्रत्यक्ष भेट हुने नर्सहरुले गाउन, मास्क र पञ्जा मात्रै लगाउने तर पिपिई नलगाउने गर्दा एकबाट अर्कोमा सङ्क्रमण फैलिने त्रास बढेको बताउनुहुन्छ ।
स्थानीय हरिशरण कार्कीले बिहान, बेलुका कर्मचारी ओसार्ने धुलिखेल अस्पतालका बस असुरक्षित रहेको गुनासो गर्नुहुन्छ । सरकारले दुईवटामध्ये एउटा सिटमा एकजना बस्ने भने पनि दुईवटै सिटमा कर्मचारी बस्ने गरेको, काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न ठाउँबाट नर्स, दन्त्य चिकित्सक र अन्य कर्मचारी आउने जाने गरेको बताउदै कार्कीले भन्नुभयो, “अस्पतालका स्टाफ भनेर के गर्नु, कसैको हातमा पनि पञ्जा देखिंदैन, सँगै सिटमा बसेर आएका हुन्छन्, एउटै बस धुलिखेलबाट उपत्यका घुमेर आउँदा कोरोना सङ्क्रमण पक्कै फैलाउँछ, यहाँ अस्पतालबाटै समुदायमा सङ्क्रमण फैलिरहेको छ ।”









