५ भदौ, सरकारले ‘चार्टर तथा उद्धार उडान’लाई पुनः सुचारु गर्ने भएको छ । बिहीबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले हवाइ मार्गबाट स्वदेश आउने यात्रुका लागि मापदण्ड निर्धारण समेत गरेको छ ।
अब स्वदेश फर्कने नेपालीले पीसीआर रिपोर्ट अनिवार्य रूपमा ल्याउनुपर्ने र काठमाण्डाै उत्रिसकेपछि होटल क्वरेण्टीनमा बस्नुपर्ने निर्णय भएको पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले बताउनुभयो ।
विदेशबाट आउनेहरुको सूची त्यस देशमा रहेको दूताबासले तोकेबमोजिम हुनेछ ।
होटलमा बस्न नसक्ने बेखर्ची बनेकालाई पनि सरकारले ल्याउने, तर उनीहरू सरकारले तोकेको क्वरेण्टीनमा बस्नुपर्ने उहाँले बताउनुभयो । उनीहरूको खर्च श्रम कल्याणकारी कोषमार्फत तिरिनेछ ।
विदेशबाट आएकाहरुलाई राख्नको लागि सरकारले काठमाण्डौका होटलको सूची पनि सार्वजनिक गरेको छ ।
पाँचतारे होटलमा बस्नेले एक दिनको नौ हजार रुपैयाँ, चार तारेमा ६ हजार, तीनतारेमा ५५ सय, दुईतारेमा बस्नेले ३५ सय, एकतारेमा २५ सय र पर्यटक स्तरीय होटमा बस्नेले प्रतिदिन १८ सय रुपैयाँसम्म तिर्नुपर्नेछ ।












