हरितालिका तीज : पशुपतिलगायतका शिवालयहरु बन्द

५ भदौ, काठमाडौं । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ ।

आजको दिन व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ । यो व्रत गर्ने पुरुषले विधुर हुनु नपर्ने, नारीले अटल सौभाग्य र अविाहित केटा केटीले गुण सम्पन्न वर वा वधु पाउने मान्यता छ ।

शिव–पार्वतीको पूजा गरेपछि नाचगान गर्ने चलन पनि छ । कोरोना भाइरस संक्रमणको जोखिमका कारण यस वर्ष तीजमा सामूहिक भेला हुन रोक लगाइएको छ । साथै पर्वका अवसरमा पशुपतिलगायतका मन्दिरहरु बन्द गरिएका छन् । बुधबार रातिदेखि निषेधाज्ञा लागू भएपछि यस वर्ष महिलाले घरमै महादेवको पूजा आराधना गरी तीन मनाउँदै छन् ।

सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले श्रीमहादेव स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ । तर यसको अर्थ सबै नारी निराहार व्रत बस्नुपर्छ भन्ने नरहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताउनु भयो ।

‘निराहार, जलाहार र फलाहार गरी व्रतका तीन किसिम छन्, सक्नेले निराहार, नसक्नेले जलाहार र जलाहार पनि नसक्नेले फलाहार व्रत गर्नु उत्तम हुन्छ’, उनले भने । स्वास्थ्य ठीक नहुनेले गहुँको रोटी, मकैको रोटी, स्याउ, सुन्तला, केरा जस्ता फलाहार गरेर पनि व्रत बस्न सकिने पनि उनले जानकारी दिनु भयो ।

बिहीबार दर खाएपछि औपचारिक रुपमा शुरु हुने तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ । तृतीयाका दिन हरितालिका व्रत, चौथीका दिन गणेश भगवानको पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धती सहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ ।

[sidebar name="button post"]