धुलिखेल नगरपालिकाले आजदेखि लागू हुने गरी आगामी भदौ ५ गतेसम्मका लागि नगरपालिकाबाट प्रवाह हुने सेवामा अत्यावश्यकबाहेका अन्य सेवा बन्द गरेको जनाएको छ ।
नगर प्रमुख अशोक ब्याञ्जुका अनुशार नगरपालिकाभित्र कोरोना सङ्क्रमितको सङ्ख्या वृद्धि भई त्यसबाट हुनसक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै अत्यावश्यक सेवाबाहेकका अन्य सेवा बन्द गरिएको हो ।
नगरपालिकाले बिहीबार नै सूचना जारी गरी धुलिखेल नगरपालिका–६ स्थित धुलिखेल अस्पतालको एक स्वास्थ्यकर्मी र अस्पताल नजिककैको होटल व्यवसायीलाई समेत कोभिड पोजेटिभ देखिएकाले अस्पतालको २०० मिटर वरिपरिको क्षेत्रलाई कन्ट्याक्ट ट्रेसिङको अवधिभर सिल गरिएको जनाएको छ ।
कोभिड–१९ कै प्रभावका कारण धुलिखेल नगरपालिकाको न्यायिक समितिको काम कार्वाहीसमेत बिहीबारबाट अर्को निर्णय नभएसम्मका लागि स्थगित गरिएको जनाइएको छ ।
सो अवधिमा नगरपालिका क्षेत्रभित्र कुनै पनि बैठक, गोष्ठी भेला, धार्मिकस्थलमा दैनिक नित्य पूजाबाहेकका अन्य गतिविधिका कार्यमा समेत रोक लगाइएको नगरपालिकाले जनाएको छ ।












