सिरहाको आठ स्थानीय तहमा साउन ३२ गतेसम्म लकडाउन

कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय सिरहाले शान्ति सुरक्षा, मुद्दा र ठाडो उजुरीबाहेक सम्पूर्ण सेवा अनिश्चिकालका लागि बन्द गरेको छ ।

सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँणेलले सूचना प्रकाशित गरी आफ्नो एक जना कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएकाले अर्काे सूचना जारी नहुञ्जेलसम्मका लागि शान्ति सुरक्षा, मुद्दा र ठाडो उजुरीबाहेक सम्पूर्ण सेवा बन्द गरिएको जानकारी दिनुभयो । उहाँले अत्यावश्यक काम नपरेसम्म सेवाका लागि नआउन र आउनै परेमा स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्य पालना गर्न आग्रहसमेत गर्नुभएको छ ।

यस्तै कोरोना सङ्क्रमण बढ्दै गएपछि सिरहाको आठ स्थानीय तहले साउन ३२ गतेसम्म लकडाउन गरेको छ । पछिल्लोपटक सिरहाको सुखीपुर नगरपालिका तथा भगवानपुर र विष्णुपुर गाउँपालिकाले छुट्टाछुटै सूचना प्रकाशित गरी आजदेखि साउन ३२ गतेराति १२ बजेसम्म आआफ्नो पालिकाभित्र लकडाउन गरेको जनाएको छ । कोरोना सङ्क्रमित बढ्दै गएकाले समुदायस्तरमा सङ्क्रमण फैलिने सम्भावनालाई दृष्टिगत गरी लकडाउन गरिएको ती पालिकाले जनाएको छ ।

भिडभाड हुने हाटबजार क्षेत्र, पसल, होटल र जनसम्पर्क अधिक हुने निजी सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीमा समेत सङ्क्रमण देखिएकाले समुदायस्तरमा फैलिनसक्ने सम्भावनालाई मध्यनजर गरी सङ्क्रमण फैलिन नदिन साउन ३२ गतेसम्म नगरक्षेत्रमा लकडाउन गरिएको सुखीपुर नगरपालिकाका प्रमुख रामऔतार यादवले जानकारी दिनुभयो ।

सिरहाको १७ स्थानीय तहमध्ये यसअघि सिरहाको लहान, गोलबजार, मिर्चैया, धनगढीमाई र सिरहा नगरपालिकाले साउन ३२ सम्म लकडाउन गरिसकेको छ ।

[sidebar name="button post"]