सरकारी अनुदानको रसायनिक मल नपाइएपछि रौतहटका किसान भारतीय मलमाथि निर्भर हुनुपर्ने वाध्यता छ ।खुल्ला सिमानाका कारण घोडासान, चैनपुर, बरगिनीया, छौडादानो र आधापुरलगायत भारतीय बजारबाट किसानले रसायनिक मल ल्याएर खेतमा छर्नुपर्ने वाध्यता रहेको किसानको भनाइ छ ।
रौतहट वौधीमाई नगरपालिका–८ का रामविलास बैठाका अनुसार कृषि सामग्री केन्द्रमा मल नआउँदा सीमावर्ती भारतीय बजारबाट जेनतेन गरेर मल ल्याएर धान खेतमा छरेको र भारतबाट मल ल्याउन निकै कष्ट झेल्नुपरेको साथै अहिले सबैभन्दा बढी घोडासान, बरगिनीया, र आधापुरलगायत क्षेत्रबाट भारतीय डिएपी, युरिया, पोटासलगायतका मल आयात भइरहेको छ ।
सीमावर्ती बजारबाट मल ल्याउनेहरू किसानलाई महँगोमा बिक्री गरिरहेका छन् । वैठाका अनुसार अनुदानको मल नहु्ँदा जति पैसा भने पनि मल किन्नै प¥यो र युरिया मलको चरम अभाव भएपछि धानमा मल छर्न केही समय ढिलो भयो ।धानमा गाँज लाग्ने बेला युरिया मलको चरम अभाव भएपछि रौतहटका किसान अहिले समस्यामा परेका छन् ।
भारतमा प्रतिबोरा छ सय रुपैयाँ मूल्य भएको मल यहाँ एक बोरा युरिया मलका लागि एक हजार पाँच सय सम्म मूल्य तिर्नुपरेको छ । वौधीमाई नगरपालिका–८ का विर्जभूषण मिश्राले सरकारले मल नदिएर किसानमाथि अत्याचार गरेको र मल लिनका लागि भारतीय सीमावर्ती बजारमाथि निर्भर रहनुपर्ने बाध्यता र उत्पादन घट्ने भएकाले महँगोमा भए पनि किनेर ल्याएको वौधीमाई नगरपालिका–८ का विर्जभूषण मिश्राले बताउनु भयो ।
राज्यले आपूर्ति गर्न नसकेर भारतीय सीमावर्ती बजारबाट खरिद गरेर किसानले ल्याउँदा प्रहरीले तस्करीको भनेर समात्न थालेपछि मलको मूल्य आकाशिएको स्थानीयवासीको भनाइ छ । सीमावर्ती बजारबाट जसोतसो भारतीयसँग मलखाद खरिद गरेर ल्याउने क्रममा नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको टोलीले पटकपटक बरामद गरी भन्सार कार्यालयमा बुुझाउने गरेकाले यहाँका किसान बढी मूल्यमा खरिद गर्न बाध्य भएका छन् ।
सीमावर्ती भारतीय बजारमा रु एक हजार देखि एक हजार दुई सय भारतीय रुपैयाँमा पाउने भारतीय पारस कम्पनीको डिएपी मल सीमावर्ती नेपालको ग्रामीण बजारमा तीन हजार ५०० प्रतिबोरा बिक्री भइरहेको कटहरियाका किसान रामचन्द्र गोसाईंले गुुनासो गर्नुभयो । किसानले धान रोपाइँ तथा गोडमेल गरेपछि खेतमा मलाखद छर्नुपर्ने जरुरी हुन्छ । यसै समयमा महँगो दरमा भए पनि खरिद गर्नुुपर्ने बाध्यता भएको किसानले बताएका छन् ।
किसानलाई चाहिने मलखाद आपूर्ति गर्न कैयौँ नेताहरुले सदनमा आवाज उठाउँदासमेत राज्यले वास्ता नगरेको फतुवा विजयपुरका एकजना किसान अच्युत मैनालीले बताउनुभयो । रौतहटका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले मलखादको सहज आपूर्तिका पहल भइरहेको बताउँदै खेतीका लागि चाहिने मलखाद भारतीय सीमावर्ती बजारमा ल्याउँदा कुनै पनि हालतमा पक्राउ नगर्न प्रहरीलाई निर्देशन दिइसकेको बताएका छन् ।









