पाँचौँ सामुदायिक वन दिवसका अवसरमा गोकर्णस्थित राष्ट्रिय शहीद स्मारक निर्माण भइरहेको यज्ञडोल (जगडोल) सामुदायिक वनमा वृक्षरोपण गरिएको छ । वन तथा भूसंरक्षण विभागको आयोजनामा भएको कार्यक्रममा वन तथा वातावरण मन्त्रालयका सचिव डा विश्वनाथ ओलीलगायतले २५ वटा रुद्राक्षको बिरुवा रोप्नुभयो ।
कार्यक्रममा सचिव ओलीले सामुदायिक वनकै कारण नेपालको वन जोगिएको बताउनुभयो । नेपालमा २९ प्रतिशतमा सीमित भएको वन क्षेत्रलाई सामुदायिक वन उपभोक्ताकै सहयोगले ४३ प्रतिशतमा पु¥याउन सकिएको सचिव ओलीले जानकारी दिनुभयो ।
गोकर्णेश्वर नगरपालिकाका नगरप्रमुख सन्तोष चालिसेले नगरपालिकामा पर्यटन प्रवद्र्धन गर्ने बजेट भए पनि स्थान नभएकाले काम गर्न नसकिएको उल्लेख गर्दै सामुदायिक वनसँग सहकार्य गरी पर्यटन प्रवद्र्धन गर्न समन्वय गर्न मन्त्रालयसँग आग्रह गर्नुभयो । कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासङ्घका अध्यक्ष भारती पाठक, विभागका महानिर्देशक मनबहादुर खड्का, यज्ञडोल (जगडोल) सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सुदर्शन सिग्देल, डिभिजन वन कार्यालय काठमाडौँका सहायक वन अधिकृत अनिल रेग्मीलगायतले राजधानीका सामुदायिक वनमा घाँस, दाउरा हुन छोडेकाले पर्यटन प्रवद्र्धनमै उपयोग गर्न सकिनेमा जोड दिनुभएको थियो ।
काठमाडौँका १४४ सामुदायिक वनमध्ये उत्कृष्ट काम गर्ने तीन सामुदायिक वनलाई सचिव ओलीले नगद पुरस्कार र प्रमाणपत्रसहित सम्मान पनि गर्नुभएको थियो । सो अनुसार शङ्खरापुर नगरपालिकाको सलम्बुदेवी सामुदायिक वन उपभोक्ता समूह पहिलो, चन्द्रागिरि नगरपालिकाको महालक्ष्मी सामुदायिक वन उपभोक्ता समूह दोस्रो र टोखा नगरपालिकाको इन्द्रायणी सामुदायिक वन उपभोक्ता समूह तेस्रो भएको घोषणा गरिएको थियो ।
पहिलोलाई रु २० हजार, दोस्रोलाई रु १५ हजार र तेस्रोलाई रु १० सहित पुरस्कृत गरिएको थियो । काठमाडौँमा निजी वन संरक्षणमा उत्कृष्ट हुनुहुने चन्द्रागिरि नगरपालिका–६ की कान्छी वाइवालाई पनि सो अवसरमा नगद रु आठ हजार र प्रमाणपत्रसहित सम्मान गरिएको थियो । उहाँले ३० रोपनी क्षेत्रफलमा वन विकास गर्नुभएको छ ।
सरकारले विसं २०७३ देखि सामुदायिक वन दिवस मनाउन थालेको हो । यस वर्ष कोरोना भाइरसको सङ्क्रमणका कारण भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षा अपनाएर कार्यक्रम गरिएको जनाइएको छ ।












