गैरआवासीय नेपाली सङ्घले नेपालको सातवटै प्रदेशमा अस्थायी आश्रयस्थल भवन निमार्णको अवधारणा अघि सारेको छ ।सङ्घका अनुसार विभिन्न समयमा आउने प्राकृतिक विपत्तिदेखि लिएर अन्य कारणले घरवारविहीन हुन परेकालाई अस्थायी रूपमा आश्रय दिने प्रयोजनले अस्थायी आश्रयस्थल भवन निर्माणको अवधारणा अघि सारिएको छ ।
नेपाल सरकार हुँदै प्रदेश सरकारहरुसँगको सहकार्यमा अस्थायी आश्रयस्थल निर्माण गर्ने गरी अवधारणा अघि सारिएको सङ्घकी महिला उपाध्यक्ष एवं सङ्घको वन एनसिसी वन च्यारिटी प्रोजेक्टकी प्रमुख रविना थापाले जानकारी दिनुभयो ।
केन्द्रीय प्रदेश हुँदै स्थानीय सरकारसँगको समन्वयमा सातवटै प्रदेशमा अस्थायी आश्रयस्थल बनाउने बारे सङ्घले अवधारणा अघि सारेको जानकारी दिनुहुँदै उपाध्यक्ष थापाले अहिले यो योजना प्रारम्भिक चरणमा रहेको जानकारी दिनुभयो । स्थानीय सरकारले जग्गा उपलब्ध गराउने र त्यसमा भवन निर्माण एनआरएनएले गरिदिने अवधारणा रहेको बताउँदै उहाँले एउटा भवन बनाउन करीब १ करोडको खर्च अनुमान गरिएको जानकारी दिनुभयो ।
‘समयसमयमा आउने प्राकृतिक विपत्तिका कारण घरवारविहीन भएकाहरुदेखि लिएर अहिले नै पनि कोरोना सङ्क्रमितहरुलाई क्वारेन्टिनमा राखौँभन्दा पनि हामीसँग त्यस्तो कुनै संरचना छैन । यसबाहेक पनि विदेशबाट अहिले फर्किएकाहरुलाई राख्नका लागि पनि हामीसँग कुनै पूर्वाधार छैन ।
एनआरएनएकी उपाध्यक्ष थापाका अनुसार कुनै पनि कारणले घरवारविहीन हुन परेकाहरुलाई अस्थायी रुपमा बसोबासको प्रबन्ध गराउनका लागि एउटा अस्थायी सेल्टरको आवश्यकता देखेर यसका लागि एनआरएनएले अवधारणा अघि सारेको हो । यस्ता सेल्टरहरु निर्माणले समस्यामा परेकाहरुलाई अस्थायी रुपमा व्यवस्थापनका लागि सहज हुन्छ भने सरकारले चाहँदा पनि ‘सर्ट टर्म’का लागि प्रयोग गर्न सक्ने पूर्वाधारका रुपमा यो रहन्छ ।
प्रदेशको पायक पर्ने स्थानमा यस्ता सेल्टरहरु निर्माण गर्नका लागि सङ्घले चरणबद्ध रुपमा प्रक्रिया अघि बढाउने र त्यसका लागि आवश्यक पर्ने सहयोग एनआरएनहरुबाटै सङ्कलन गर्ने लक्ष्य रहेको सङ्घकी उपाध्यक्ष थापाले जानकारी दिनुभयो ।









