स्वास्थ्यको विषयमा कुनै कम्परमाइज नगर्नूस् -राज्यमन्त्री कार्की

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोषिमा कार्कीले सामाजिक सञ्जालबाट आफ्नै ढंगले प्रचार गरी बजारमा विभिन्न खालका औषधिहरुको बिक्री भइरहेको भन्दै नियममन गर्ने संयन्त्र बनाउन आवश्यक रहेको बताएकी छन् ।

मंगलवार औषधि व्यवस्थापन विभागको अनुगमन तथा ब्रिफिङ लिने क्रममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राज्यमन्त्री कार्कीले विभागलाई यस्तो बताएकी हुन् । उनले फार्मास्युटिकल प्रोडक्ट, न्युट्रासेटिकल प्रोडक्टहरु, कस्मेस्युटिकल प्रोडक्ट्सहरु बजारमा आउनु भन्दाअघि डिडिएमा देखाउनुपर्ने, औषधि विभागमा देखाउनुपर्ने र अनुमति लिनैपर्ने व्यवस्था गर्न आवश्यक भएको बताइन् ।

उनले बजारमा अहिले धेरै प्रकारका विज्ञापनहरुको आफूखुशी प्रयोग हुने र औषधिहरु पनि जथाभावी बेच्ने काम भइरहेको भन्दै त्यसलाई नियन्त्रण र नियमन गर्न जरुरी भएको बताइन् । उनले नागरिकसमक्ष प्रत्यक्ष जोडिएको स्वास्थ्यको विषयमा कुनै कम्परमाइज गर्नु नहुने बताइन् । देश भित्रै औषधिहरुको उत्पादन हुने प्रवल सम्भावना रहेकाले त्यस सम्बन्धी खोज र अनुसन्धान अघि बढाउन उनले आग्रह गरिन् ।

राज्यमन्त्री कार्कीले सामाजिक सञ्जालबाट अनलाइन सपिङ गर्नेकुरा अत्याधिक भइरहेकाले त्यसलाई नियमन र नियन्त्रण नगरे अनलाइन सपिङ झनै भद्रगोल हुने बताइन् ।

[sidebar name="button post"]