सप्तरी २ को प्रदेशसभा २ मा त्रिपक्षीय प्रतिस्पर्धा

सप्तरी: सप्तरीको निर्वाचन क्षेत्र २ को प्रदेशसभा २ मा पूर्वमन्त्रीसहित त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ ।

सत्तारुढ गठबन्धनबाट पूर्वमन्त्री एवं नेकपा माओवादी केन्द्रका नेता उमेश यादव र जसपा–एमाले गठबन्धनबाट जसपा नेता लक्ष्मण यादव तथा जनमत पार्टीबाट पूर्व माओवादी नेता महेश यादवबीच कडा प्रतिस्पर्धा हुने बताइएको छ । पैतालीस हजार चार सय ७६ मतदाता रहेको यस क्षेत्रमा १४ उम्मेदवार चुनावी मैदानमा छन् ।

मुख्य प्रतिस्पर्धा भने महेश यादव, उमेश यादव र लक्ष्मण यादवबीच नै हुने मतदाताको अनुमान छ । यस क्षेत्रबाट नेमकिपाका महिदेव चौधरी, राप्रपा नेपालका फुदनलाल खंग, राप्रपाका फुलेन्द मण्डल, नेपाल सङ्घीय समाजवादी पार्टीका मो। परमुद, हाम्रो नेपाली पार्टीका खेलानन्दकुमार दास तथा स्वतन्त्रतर्फ सकुन्तलादेवी यादव, रिङ्कुदेवी यादव, गङ्गाराम यादव, नीरजकुमार शाही र दुर्गानन्द यादव पनि चुनावी मैदानमा रहेका छन्।

यस क्षेत्रमा राजविराज नगरपालिकाका सबै १६ तथा महादेवा गाउँपालिकाका दुई वडा पर्दछन् । स्थानीयतहको निर्वाचनमा यस क्षेत्रमा जसपाले प्रमुख पदमा १० हजार तीन सय ४५ र एमालेले एक हजार तीन सय ८७ मत प्राप्त गरेको थियो । यस्तै माओवादीका प्रमुखका उम्मेदवारले पाँच हजार चार सय ४६, कांग्रेसका प्रमुखका उम्मेदवारले चार हजार सात सय ६७, लोसपाका प्रमुखका उम्मेदवारले तीन हजार चार सय ८१, एकीकृत समाजवादीका प्रमुखका उम्मेदवारले दुई हजार आठ सय ९० मत ल्याउएका थिए ।

यस्तै जनमत पार्टीका प्रमुख पदका उम्मेदवारले एक हजार एक सय सात मत ल्याएका थिए । यस मतभारका आधारमा अहिल सत्ता गठबन्धनका उम्मेदवार बलिया देखिन्छन् । अघिल्लो चुनावमा यस क्षेत्रबाट सङ्घीय समाजवादी फोरम र राजपा गठबन्धनका साझा उम्मेदवार मनिष सुमन निर्वाचित भएका थिए ।

यस पटक समानुपातिकतर्फ उम्मेदवार बनुभएको छ । त्यतिबेला उहाँका निकटतम प्रतिद्वन्द्वी रहेका माओवादी केन्द्रका महेश यादव अहिले माओवादी पार्टी त्यागेर जनमत पार्टीबाट उम्मेदार बनी दोस्रो पटक चुनावी मैदानमा उठेका छन्।

सत्तारुढ गठबन्धनका उम्मेदवार माओवादीका उमेश यादव र जसपाका लक्ष्मण यादव पनि नगर क्षेत्रमा पकड बलियो बनाउन भरपूर्ण प्रयास गरेका छन्। ग्रामीण क्षेत्रमा भने तीन वटै उम्मेदारको मतभार उस्तै उस्तै रहेको बताइन्छ ।

[sidebar name="button post"]