उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्वको समापन गरिँदै

काठमाडौं: आज (सोमबार) उदाउँदो सूर्यलाई अर्घ्य दिई लोकआस्थाको पर्व छठको समापन गरिँदै छ।

उदाउँदो सूर्यलाई अर्घ्य दिन तराई मधेसका विभिन्न जिल्लासँगै काठमाण्डौ उपत्यका र पहाडी क्षेत्रमासमेत भक्तजनहरु नदी, तलाउ र पोखरीका किनारमा रातभर जाग्राम बसेका थिए । छठको मुख्य दिन हिजो अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिएका भक्तजनले आज उदाउँदो सूर्यको पूजा आराधना गरेका हुन् ।

अर्घ्यमा ठकुवा, कसार, केरा, उखु, मेवा मिष्ठान, गेडागुडी र विभिन्न वनस्पति, भुसवा, माटोको हात्ती, सुप, कनसुपती, कलशसहितको घैँटो सूर्यलाई अर्पण गर्ने चलन रहेको छ। सूर्यलाई दिइने अर्घ्यमा ठकुवालाई समृद्धि, उखुलाई आरोग्य, केरालाई विष्णु र कृषि उत्पादनलाई प्रकृतिप्रति कृतज्ञताको द्योतक मानिन्छ।

छठ पर्वको मूल सन्देश भनेकै समन्वय, समावेशी र सादगीपन हो। छठ पर्व महिलाको अगुवाइमा समाज र परिवारको हितका लागि संकल्प गरिन्छ, जो यसको महत्वपूर्ण पक्ष हो।

अस्ताउने र उदाउने दुइटै सूर्यलाई अभिनन्दन गर्नुको अर्थ जीवनमा सुख, दुःख, रोदन र हाँसोलाई समान रूपमा र जीवनकै पाटोको रूपमा लिइनु हो।

धनी, गरिब, कथित तल्ला र माथिल्ला जाति एकै ठाउँमा उपस्थित भइ पूजा गर्नु ईश्वरीय सत्ताको दृष्टिमा सबै समान हुने सन्देश दिन्छ भने सूर्यको उपयोगिता कृषि संस्कृतिमा अपरिहार्य भएको अभिव्यक्ति पनि यस पर्वले दिन्छ।

यसैबीच मधेस प्रदेश सरकारले छठ पर्वको अन्तिम दिन आज पनि सार्वजनिक बिदा दिएको छ । सङ्घ सरकारले अस्ताउँदो सूर्यलाई अर्घ्य दिने दिन अर्थात् हिजो मात्रै बिदा दिएपछि प्रदेश सरकारले छठको अन्तिम दिन आजसमेत प्रदेशमा बिदा दिने निर्णय गरेको हो।

[sidebar name="button post"]