Ad #144479

काठमाडौं: वरिष्ठ राजनीतिज्ञ एवं समाजसेवी मैयादेवी श्रेष्ठको निधनमा विभिन्न व्यक्ति तथा सङ्घसंस्थाले दुःख व्यक्त गरेका छन् ।

विसं १९८५ असोज ५ गते तनहुँको बन्दीपुरमा जन्मिनुभएका श्रेष्ठको आज निधन भएको छ । श्रेष्ठको निधनमा तनहुँका विभिन्न व्यक्ति तथा सङ्घसंस्थाले दुःख व्यक्त गरेका छन् । संविधानसभा सदस्य रामचन्द्र पोखरेलले प्रजातन्त्र सेनानीको श्रेष्ठको निधनले चितवन मात्र नभई देवघाटधाम र गण्डकी क्षेत्र शोकमा डुबेको बताए।

प्रजातन्त्रका लागि सङ्घर्षरत श्रेष्ठको निधनले सबैलाई शोकमा डुबाएको छ ।पोखरेलले  भने उनले देशका लागि अतुलनीय योगदान पुर्याउएका थिए । शोकको घडीमा दिवङ्गत आत्माप्रति चीरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति पोखरेलले समवेदना व्यक्त गरेका छन् ।

देवघाट क्षेत्र विकास समितिले स्व श्रेष्ठको निधनमा दुःख व्यक्त गरेको छ । समितिका अध्यक्ष बद्री अधिकारीले श्रेष्ठको निधनले राष्ट्रलाई अपूरणीय क्षति पुगेको बताए  । बन्दीपुर निवासी किसन प्रधानले श्रेष्ठ एक कुशल राजनीतिक र समाजसेवीको छवि बनाउनुभएका श्रेष्ठको निधनले दुखित तुल्याएको बताए ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले श्रेष्ठको असामयिक निधनले आफूलाई मर्माहत बनाएको उल्लेख गर्दै भने दुःखद् घडीमा सम्पूर्ण परिवारजन एवं कांग्रेसका नेता, कार्यकर्ता एवं शुभेच्छुकमा धैर्यधारण गर्ने शक्ति प्रदान होस् ।

निमोनियाबाट अस्वस्थ भई श्रेष्ठ कात्तिक ४ गतेदेखि चितवन मेडिकल कलेजको अस्पतालमा उपचाररत थिए । उनलाई श्वासप्रश्वासको समस्या देखिएको थियो । नेपाल आमा सम्मानबाट सम्मानित पूर्वसांसद श्रेष्ठ मैयादेवी कन्या क्याम्पसको संरक्षक हुनुहुन्छ ।