काठमाडौँ: नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसले विकास र राजनीतिलाई सँगै अगाडि बढाउने बताए ।
कांग्रेस तनहुँ–काठमाडौँ सम्पर्क समितिले आज यहाँ आयोजना गरेको ‘तिहार तथा छठ पर्वको शुभकामना आदानप्रदान’ कार्यक्रममा बोल्दै उहाँले कांग्रेसले जनतालाई गाउँमा बस्ने वातावरण निर्माण गर्ने बताए । तनहुँको यातायात, शिक्षा, स्वास्थ्य, पर्यटनलगायत विकासमा कांग्रेसको महत्वपूर्ण भूमिका रहेको छ, कांग्रेस राजनीतिका लागि राजनीति मात्र नगरेर जनतालाई गाउँमा बस्ने वातावरण निर्माण गर्छ ।
लोकतान्त्रिक आन्दोलनको इतिहास तनहुँसँग जोडिएको उहाँको भनाइ छ । तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार पौडेलले संविधानको रक्षा र मुलुकको आर्थिक विकासका लागि गठबन्धन निर्माण भएको बताए। कांग्रेस केन्द्रीय सदस्य शङ्कर भण्डारीले मुलुकको आर्थिक विकास र संविधानको रक्षाका लागि कांग्रेसको नेतृत्वमा निर्माण भएको लोकतान्त्रिक–वाम गठबन्धनलाई विजय गराउन आवश्यक रहेको बताए ।
तनहुँ क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार भण्डारीले आगामी मङ्सिर ४ गते हुन लागेको निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई विजय गराउन काठमाडौँबाट आआफ्नो गाउँमा गएर खट्न आग्रह गरेका छन् । कांग्रेस केन्द्रीय सदस्य गोविन्द भट्टराईले संविधानको रक्षा गर्दै मुलुकको आर्थिक विकास गर्नका लागि गठबन्धन निर्माण गरेको बताए ।
कांग्रेस केन्द्रीय सदस्य धु्रव वाग्लेले तनहुँ सान र विकासका लागि कांग्रेस गठबन्धनलाई विजयी गराउन आवश्यक रहेको बताए। कांग्रेस तनहुँका सभापति एवं तनहुँ क्षेत्र नं २ प्रदेश (२)का उम्मेदवार जीतप्रकाश आले, काँग्रेसको तर्फबाट तनहुँ क्षेत्र नं १ प्रदेश (१) का उम्मेदवार अशोककुमार श्रेष्ठले पार्टीभित्रको आन्तरिक झगडालाई निर्वाचनमा देखाउन नहुने धारणा राख्नुभएको थियो ।
कांग्रेस तनहुँ–काठमाडौँ सम्पर्क समितिका सभापति उत्तम मिश्रले तनहुँको आर्थिक विकासका लागि आगामी निर्वाचनमा लोकतान्त्रिक–वाम गठबन्धनको जित आवश्यक रहेको बताए ।












