तिहारमा भत्ताको रकम नपाउँदा ज्येष्ठ नागरिक निराश

कञ्चनपुर: शुक्लाफाँटा नगरपालिकाले सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत भत्ताको रकम वितरण नगरेपछि ज्येष्ठ नागरिक निराश भएका छन् ।

तिहार आउन लाग्दा पनि ज्येष्ठ नागरिकले भत्ताको रकम पाउन सकेका छैनन् । भत्ताको रकम नपाउँदा छिमेकीबाट सापटी लिएर दसैँ मनायौँ”, ज्येष्ठ नागरिक आशाराम चौधरीले भने तिहारमा भत्ताको रकम पाउने आशामा थियौँ, नगरपालिकाले बाँड्ने सुरसार गरेको छैन, तिहार पनि दसैँजस्तौ खल्लो हुने भयो ।

अर्का ज्येष्ठ नागरिक नारुदेवी लुहारले भन्नुभयो, “वडा कार्यालयमा बैंकका कर्मचारीले भत्ताको रकम कहिले लिएर आउँछन् भन्ने आशमै बाटो कुरेर बसेका थियौँ । चाडपर्वमा नयाँ लुगा खरिद गरी लगाउने, मीठो मसिनो खाने, चेलीबेटीलाई दक्षिणा दिनेजस्ता योजना बनाएको भए पनि भत्ता नपाउँदा तिहार पनि दसैँ जस्तै खल्लो हुने देखिएको उनको भनाइ छ ।

ज्येष्ठ नागरिकसँगै सामाजिक सुरक्षाअन्तर्गतको भत्ताको रकम नगरपालिकाका विधवा, अपाङ्गता भएका व्यक्ति र दलित बालबालिकाले पनि पाउन सकेका छैनन् । नगरपालिकाको सामाजिक सुरक्षा शाखाका कर्मचारी राजेन्द्रबहादुर सिंहले अधिकांश ज्येष्ठ नागरिकलगायतका लाभग्राहीले सामाजिक सुरक्षा कार्यविधि २०७७ अनुसार परिचयपत्र नवीकरण गर्नुपर्ने भए पनि नगर्दा भत्ताको रकम वितरणमा विलम्ब भएको बताए ।

भत्ताको रकम पाउनेमध्ये ६० प्रतिशले मात्रै नवीकरण गरेका छन् । नवीकरण नगरेका ४० प्रतिशत बढी छुट्ने भएकाले वडा कार्यालयलाई भत्ताको रकम बुझ्ने सबैको नवीकरण गर्नका लागि भनेका छौँ, नवीकरणको कार्य सकिएपछि तुरुन्तै भत्ताको रकम वितरणको कार्य हुन्छ ।

उनका अनुसार नगरपालिकामा ज्येष्ठ नागरिक तीन हजार एक सय १२८, ज्येष्ठ नागरिक दलित चार सय २२, ज्येष्ठ नागरिक एकल महिला छ सय दुई, विधवा (आर्थिक सहायता) एक हजार ५७, अपाङ्गता भएका क वर्गका एक सय ३९, ख वर्गका दुई सय ४४ र दलित बालबालिका आठ सय ५० ले सामाजिक सुरक्षाअन्तर्गतको भत्ताको रकम पाउने गरेका छन् ।

त्रैमासिकरुपमा भत्ताको रकम वितरण गर्ने व्यवस्था रहेको छ । नगरपालिकाबाट सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत प्रत्येक त्रैमासिकमा रु पाँच करोड ८२ लाख ९३ हजार १६ रकम भत्ताका रुपमा वितरण हुने गरेको छ ।

[sidebar name="button post"]