काठमाडौं: पछिल्लो समयमा चोरी, डकैती लगायतका विभिन्न अपराधिक क्रियाकलाप बढ्न थाले पछि कागेश्वरी मनोहरा नगरपालिका वडा नं २ का विभिन्न स्थान र चोकहरुमा सिसिटिभी जडान गरिएको छ ।
कागेश्वरी मनोहरा नगरपालिकाको सहयोग र वडा नम्बर २ का अध्यक्ष सुरज खड्काको पहलमा ९ ठाउँमा सिसिटिभी क्यामरा जडान गरिएको छ । अन्य स्थानमा पनि थप ५ वटा सिसिटिभी क्यामरा जडान गर्ने कार्य भइरहेको अध्यक्ष खड्काले बताएका छन् ।
पछिल्लो समय समाज विभिन्न किसिमका विकृति, विसंगति रोक्न, वडा टोलको सुरक्षा तथा सडक दुर्घटना र आपराधिक गतिविधिमाथि निगरानी गर्न सजिलो हुने भएकोले सिसिटिभी जडान गरिएको उनले प्रष्ट पारेका छन ।
प्रहरीको एक्लो प्रयासले मात्रै दुर्घटना र अपराध न्यूनिकरण गर्न नसकिने हुँदा वडामा सिसिटीभी जडानका गरिएको अध्यक्ष खड्का बताए । साथै, सिसिटीभी जडानपछि समाजमा हुने अपराधिक घटनाहरुमा कमी आउनुका साथै घटनाहरुको वैज्ञानिक अनुसन्धान गर्न, अपराधी मनोवृत्तिका मानिसहरुमा मनोवैज्ञानिक असर पार्न, फरार अभियुक्त तथा सवारी साधनको पहिचान गर्न र कम जनशक्तीबाट धेरै स्थानहरुको अनुगमन गर्न सजिलो हुने अध्यक्ष खड्काले बताए ।









