ओलीले राति २ बजे राष्ट्रपतिलाई उठाएर संसद भंग गर्नुभोः प्रधानमन्त्री देउवा

काठमाडौँ :प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राति २ बजे राष्ट्रपति विद्यादेवी भण्डारीलाई उठाएर संसद भंग गरेको बताएका छन्।

 मंगलबार ललितपुरमा आयोजित सत्तारुढ गठबन्धनको अगुवा कार्यकर्ता भेलामा बोल्दै उनले यस्तो बताएका हुन्। संसद दुई पटक भंग गरेर तत्कालीन प्रधानमन्त्री ओलीले संविधान मिच्ने काम गरेको पनि उनले तर्क गरे। तर आफूहरुले त्यसलाई जोगाएको पनि देउवाले बताए।

ओलीजीले दुई पटक संसद् भङ्ग गरिदिए । जनताले चुनेको संसद् मनपरि ढङ्गले भङ्ग गर्न थालेको हुनाले नै संविधान बनाउँदा खेरी कुनै पनि हालतमा भङ्ग गर्न नपाउने व्यवस्था गरेका छौँ । राति २ बजे राष्ट्रपतिलाई उठाएर संसद् भङ्ग गरिदिए । बिहानै गरे हुन्थ्यो । बिहान ६/७ बजेतिर गर्दा पनि हुन्थ्यो । त्यस्तो किसिमको एउटा लहडमा सदन भङ्ग गर्न थालेपछि त हामीले यो संसद् बचाउन आवश्यक थियो ।

ओलीले दुई वर्षअघि नै संसद भंग गरे पनि गठबन्धनले संसद जोगाएर अहिले ठीक समयमा चुनावमा जान लागेको देउवाले बताए। अहिलेको संविधान राम्रो बनेको भन्दै प्रधानमन्त्री देउवाले सबै मिलेर संविधानको रक्षा गर्नुपर्ने बताए।

[sidebar name="button post"]