सर्लाहीमा यात्रुबाहक बस दुर्घटना हुँदा २३ जना घाइते

जनकपुरधाम: सर्लाहीमा यात्रुबाहक बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन्।

काँकडभिट्टाबाट भैरहवाका लागि छुटेको बा ४ ख ३३७८ नम्बरको बस सोमबार बिहान ३ बजेतिर बाँके चोकनजिकै दुर्घटना परेको हो । बस अनियन्त्रित भई सडक छेउमा पल्टिँदा घाइते भएका यात्रुको लालबन्दीस्थित विभिन्न अस्पतालमा उपचार चलिरहेको इलाका प्रहरी कार्यालय केशरगञ्जले जनाएको छ ।

बस सडकबाट बाटो छेउमा पल्टिँदा बसमा सवार रहेका ३३ जनामध्ये २३ जना घाइते भएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक विजय यादवले जानकारी दिए।

घाइतेमध्ये ३ वर्षीया बालिकासहित दुईको अवस्था गम्भीर रहेको छ। उनीहरूलाई थप उपचारका लागि झापा रिफर गरिएको छ। बसका सह-चालक झापाको मेचिनगर नगरपालिका ७ बस्ने २१ वर्षीय प्रदिप पुरी र वडा नं. ९ का बस चालक दिपक बोहराका ३ वर्षीया छोरी प्रिन्स बोहराको अवस्था गम्भीर रहेको छ।

[sidebar name="button post"]