काठमाडौँ : यसपटकको चुनावमा स्वतन्त्र उम्मेद्वारहरुको चर्चा बढ्दो छ । स्थानीय तहको चुनावमा बालेन, हर्क साम्पाङ, गोपी हमाल जस्ता स्वतन्त्र उम्मेद्वारले अप्रत्याशित रुपमा जित हात पारेपछि यसपटकको प्रदेश र प्रतिनिधिसभा चुनावमा पनि स्वतन्त्र उम्मेद्वारको लर्को छ ।
काठमाडौँ क्षेत्र नं. २ मा स्थानीय प्रकाश अधिकारीले स्वतन्त्र उम्मेद्वारी दिएका छन् । ‘क्यामेरा’ चुनाव चिन्हसहित चुनावी मैदानमा होमिएका प्रकाश अधिकारीको यतिबेला चर्चा ह्वात्तै बढेको छ । कांग्रेस र कम्युनिष्ट दुवैको गढ बनेको काठमाडौँ क्षेत्र नं. २ मा यसअघि जितेका ‘हेभीवेट’ नेताहरुले कुनै काम नगरेपछि यसपटक पार्टीप्रति स्थानीय आक्रोशित छन् ।
स्वतन्त्र युवाको लहर चलिरहेका बेला बौद्धिक र सक्षम युवा प्रकाश अधिकारीले उम्मेद्वारी दिएपछि उनीप्रति विस्तारै स्थानीय मतदाताको झुकाव र प्रभाव बढेको छ । सत्ता गठबन्धनले काठमाडौँ २ मा ओनसरी घर्तीलाई उम्मेद्वार बनाएको छ । उनलाई स्थानीय मतदाताले ‘टुरिस्ट’ उम्मेद्वार बताउने गरेका छन् ।
नेकपा एमालेले मनिराम फुयाललाई उम्मेद्वार बनाएको छ । तर एमालेले बहुमत पाउँदा पनि केही गर्न नसकेको र पार्टी फुटेका कारण उनीप्रति पनि मतदाता इमान्दार हुन सकिरहेका छैनन् । ओनसरी टुरिस्ट उम्मेद्वारका रुपमा रोल्पाबाट काठमाडौँ २ मा आएकी छन् ।
फुयाल स्थानीय भएपनि जनताको काम र आशामा भरासिलो बन्न सकिरहेका छैनन् । नेताहरुलाई जिताए खाली कार्यकर्ताका लागि मात्रै काम गर्छन् भन्ने प्रवृत्ति हावी रहेका बेला धेरैले प्रकाश अधिकारीको उम्मेद्वारीलाई चाँसो र नयाँ विकल्पको रुपमा हेरेका छन् ।
स्वतन्त्र युवाहरुले जितेको खण्डमा निष्फिक्री काम गर्न सक्ने भन्दै मतदाता केही नयाँ विकल्पमा यतिबेला सोचमग्न छन् ।
कांग्रेस र कम्युनिष्टको गढ
काठमाडौँ क्षेत्र नं. २ हेवीवेट नेताहरुको चुनावी क्षेत्र हो । यो क्षेत्रबाट एक समय कृष्णप्रसाद भट्टराईले चुनाव लडेका थिए । पहिलोपटक चुनाव जितेका उनले दोस्रोपटक चुनाव लड्दा एमालेकी विद्या भण्डारीसँग पराजित भए ।
मदन भण्डारीको नामले परिचित विद्या देवी भण्डारी चुनाव जितेर राष्ट्रपति बनिन् । तर उनले खासमा केही गर्न पनि सकिनन् । खासगरि विकास र काठमाडौँ क्षेत्र नं. २ का मतदाताको लागि उनले गर्न नसकेको स्पष्ट आक्रोश मतदातामा छ ।
कृष्णप्रसाद भट्टराईको गठमा एमालेले हैकम जमाएपछि विद्या भण्डारी र माधव नेपालले क्रमशः चुनाव लडे । विद्या भण्डारीले चुनाव जित्दा माधव नेपालले दोस्रोपटक हारेका थिए । चुनाव लडेर हार्दा पनि माधव नेपाल प्रधानमन्त्री बनेका थिए ।
उनी रौतहटका स्थायी बासिन्दा हुन् । यसपटकको चुनावमा नेपाल रौतहट पुगेका छन् । कृष्णप्रसाद भट्टराई, विद्या भण्डारी र माधव नेपालदेखि झक्कु सुवेदीसम्मले जितेर पनि जनताको लागि केही गर्न नसकेपछि यतिबेला स्थानीय मतदाता स्वतन्त्रतिर बढी झुका दिन बाध्य भएका हुन् । जसले सत्ता गठबन्धन र एमाले उम्मेद्वारलाई भारी चुनौति बढाएको छ ।
कसको सम्भावना कति ?
काठमाडौँ क्षेत्र नं. २ मा अहिले पनि कांग्रेसको बाहुल्यता मानिन्छ । तर कांग्रेसको आन्तरिक गुटले गर्दा कांग्रेसकै उम्मेद्वार चुनावमा जित्न सकिरहेका छैनन् । कांग्रेसपछि एमाले बलियो मानिन्छ । तर दुवै पार्टीका कार्यकर्ता उम्मेद्वार हेरेर भोट हाल्ने र नहाल्ने निर्णयमा पुग्दा कांग्रेस कम्युनिष्ट उम्मेद्वारको जित चुनौतिपूर्ण हुन्छ ।
कांग्रेस, एमालेपछि माओवादी, समाजवादी र राप्रपा छन् । तर निकै न्युन संख्यामा माओवादी, नेकपा समाजवादी र राप्रपाका कार्यकर्ता छन् । तर यसपटकको चुनावमा अचम्म भनेको तीनै ठूला पार्टीका नेताहरुबाट स्थानीय मतदाता भने क्रुद्ध छन् ।
खुलेर उनीहरुले आफ्ना नेताहरुको विरोध गर्न नसकेपनि भित्रभित्रै असन्तुष्टि बढ्दो छ । जसकारण यतिबेला काठमाडौँ क्षेत्र नं. २ मा कसले बाजी मार्छ भनेर यसै भन्न सकिने अवस्था छैन । चुनावमा जित्नका लागि भनेर सत्ता गठबन्धनबाट ओनसरी घर्ती आएकी छन् । जो नेपालकै पहिलो महिला सभामुख हुन् ।
यस्तै एमालेबाट मणिराम फुयाल, स्वतन्त्रबाट प्रकाश अधिकारी, लौरो अभियानबाट कोषराज सुवेदी, सचेत नेपाली पार्टीबाट पुण्य प्रसाई लगायत ३० जना उम्मेद्वार मैदानमा छन् । यस्तै नेमकिपाबाट अनिल श्रेष्ठ, स्वतन्त्रबाट अनुप बोहरा, नेपालवादबाट इश्वर गौतम, स्वतन्त्रबाट काशिराज पुडासैनी, राप्रपाबाट कुन्ती पोखरेल, स्वतन्त्रबाट कृष्ण अधिकारी, कृष्णराम पुरी, जनमत पार्टीबाट गणेशप्रसाद पुडासैनी, जनमुक्ति पार्टीबाट चिरञ्जिवी राई चुनावी मैदानमा छन् ।
यस्तै स्वतन्त्रबाट दिनेश खड्का, विवेकशील पार्टीबाट धनेज थापा, स्वतन्त्रबाट प्रकाश चौलागाई लगायत छन् । यस्तै महिलाबाट भगवती ढकाल, सीता तामाङ र सोविता गौतम पनि काठमाडौँ क्षेत्र नं. २ बाटै चुनावी मैदानमा छन् ।









