कर्णाली प्रदेशमा एक हजार परिवार विस्थापित

२९ असोज, सुर्खेत । बाढीपहिरोले प्रदेशभर करिब एक हजार परिवार विस्थापित हुन पुगेका छन् । प्रहरीको तथ्याङ्कअनुसार नौ सय ९९ परिवारका सात हजार सात सय ६८ जना विस्थापित भएका हुन् । तीमध्ये सात सय ७६ घर पूर्णरुपमा क्षति भएको छ भने एक हजार एक सय ६३ घरमा आशिंक क्षति भएको छ ।

त्यसैगरी चार सय ४० घर उच्च जोखिममा रहेका र बाढीपहिरोमा परी ३६ जनाको मृत्यु २८ जना घाइते भएका र २० जना अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ । सबैभन्दा ठूलो क्षति कालीकोटमा भएको छ ।

प्रतिकूल मौसमका कारण राहत सामग्री पीडित परिवारलाई उपलब्ध गराउन कठिन भएको छ । बाढीपहिरोबाट पीडित परिवारलाई कर्णाली प्रदेश सरकारले हेलिकप्टरबाट राहत वितरण गरिरहे पनि सबै परिवारलाई राहत दिन कठिन भएको कर्णाली प्रदेश सरकारले जनाएको छ । विस्थापित परिवारका लागि दिने भनिएको राहत सामग्री सुर्खेतमा रहेको र सडक सञ्चालनमा आउने वित्तिकै वितरणमा तीव्रता दिइने सरकारकोे प्रतिक्रिया छ ।

[sidebar name="button post"]