काठमाडौं: पूर्वमन्त्री एवं रौतहट क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा चुनावका लागि उम्मेदवारी दर्ता गरेका प्रभु साहले आफू नेकपा एमालेमा नरहेको बताएका छन्।
उम्मेदवारी मनोनयन दर्ताकै पूर्वसन्ध्यामा एमाले अध्यक्ष केपी शर्मा ओली र जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवबीच चुनावमा तालमेलको सहमति भएपछि मधेस प्रदेशमा एमाले–जसपा गठबन्धनप्रति असन्तुष्ट एमालेका नेता–कार्यकर्ताले विद्रोह गरेका छन् ।
प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि साह समूहले २५ स्थानमा स्वतन्त्र उम्मेदवारी दिएको छ । जनता समाजवादी पार्टी (जसपा) सँग मधेसमा चुनावी तालमेल गर्न नहुने पक्षमा रहेका साहले आफ्नै पार्टीको टिकट अस्वीकार गर्दै स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।
पूर्वमन्त्री साहका अनुसार अब एमालेसँग दुई वटा विकल्प छन् । ‘एमालेले स्वतन्त्र उम्मेदवारी दिएका हामी सबैलाई कारबाही गर्ने कि हाम्रो उम्मेदवारीलाई स्वीकार गर्ने ? यिनै दुई विकल्प अब एमालेसँग बाँकी छ,’ उनले भने । जनताको भावना, कार्यकर्ताको अपेक्षालाई एमालेले निर्वाचनकै पूर्वसन्ध्यामा ठेस लगाएको उनको भनाइ छ ।
केही अघिसम्म त ओलीजीले नै पाँच दलीय गठबन्धनमात्र होइन ८/१० दलीय गठबन्धन भए पनि एमाले एक्लै सामना गर्न तयार रहेको भन्नुभएकै हो नि उनले भने अहिले त्यस्तो के आइप-यो र जसपासँग तालमेल नगरी भएन ? आफूले लोसपासँग सहकार्य गर्दा पनि असहमति जनाएको उनले स्मरण गराए ।
एमाले भनेको राष्ट्रवादी शक्ति हो, कुनै राष्ट्रघाती पार्टीसँग सहकार्य गर्नु हुँदैन भनेर मैले त्यो बेला भनेको थिएँ,’ उनले भने, ‘यद्यपि मैले त्यतिबेला कुनै दलको नाम लिएको थिइनँ ।’









