काठमाडौँ: निर्वाचन आयोगले सामाजिक सञ्जालका सञ्चालकसँग सहकार्य गरेर उम्मेदवारले विज्ञापनमा गर्ने खर्चको निगरानी थालेको छ ।
उम्मेदवारहरूले फेसबुक, ट्वीटरलगायत सामाजिक सञ्जालबाट चुनावी प्रचारप्रसारका सामग्री (विज्ञापन) राखेमा त्यसमा लागेको खर्च विवरणसमेत निर्वाचन आयोगमा बुझाउनुपर्ने भएको छ।
निर्वाचन आचारसंहिता २०७९ को दफा १६ मा राजनीतिक दल तथा उम्मेदवारले निर्वाचन खर्चसम्बन्धी पालना गर्नुपर्ने आचरणको व्यवस्था गरिएको छ । सामाजिक सञ्जालबाट गरिने विज्ञापनको खर्चबारे उम्मेदवारले निर्वाचन सम्पन्न भएपछि ३० दिनभित्र विवरण पेस गर्नुपर्ने हुन्छ । उम्मेदवारले बुझाएको खर्चलाई आयोगको अनुगमन संयन्त्रमा रहेको अभिलेखसँग भिडाएर परीक्षण गर्ने आयोगले जनाएको छ । सामाजिक सञ्जालमार्फत हुने विज्ञापनका सबै खर्च विवरण चुस्तदुरुस्त राख्न दल र उम्मेदवारलाई आयोगले आग्रह गरेको छ ।
निर्वाचन आयोगले एक विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालकोसमेत प्रयोग गरी चुनावी प्रचार गर्न थालिएको देखिएकोले यस्तो खर्चको विवरण राख्न राजनीतिक दलहरू र उम्मेदवारहरूलाई आग्रह गरिएको उल्लेख गरेको छ।










