१६ असोज, बैतडी । हिन्दू नेपालीको महान चाड दशैँमा पनि सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बैतडीमा हवाई सेवा सञ्चालन हुन सकेन । लामो समयदेखि बन्द रहेको हवाई सेवा दशैँमा पुनःसञ्चालन हुने भनिएको थियो । तर दशैँमा पनि सञ्चालन हुन नसकेको हो ।
समिट एयरले साप्ताहिकरुपमा उडान गर्दै आएकामा गत चैतदेखि बन्द रहेको धनगढी–बैतडी–धनगढी हवाई उडान सेवा बन्द छ । कहिले यात्रु नपाइने समस्या त कहिले मौसम खराबीका कारण यहाँको उडान सेवा छ महिनादेखि बन्द रहेको हो । यसअघि दशैँलाई लक्षित गर्दै यही असोज ८ गते शनिबारदेखि नियमितरुपमा हवाई उडान हुने जनाइएको थियो ।
माथिबाटै दशैँमा यात्रु हुन्छन् भनेर असोज ८ देखि उडान भर्ने भनेर जानकारी आएको भए पनि यात्रु समस्याका कारण हुन नसकेको समिट एयर बैतडीका सम्पर्क व्यक्ति कृष्णदत्त भट्टले जानकारी दिनुभयो ।
साताको एक दिन बिहीबार समिट एयरले उडान भर्दै आएकामा गत चैत १० गते यहाँ अन्तिमपटक उडान भएको थियो । भट्टले भन्नुभयो, “दशैँ, तिहारका बेला यात्रु नियमितरुपमा पाइन्छन् भनेर असोज ८ गतेदेखि फ्लाइट हुने जानकारी आएको थियो तर यात्रु अभावमा उडान हुन सकेन ।”
यसअघि विहीबार हुँदै आएको हवाई उडान असोज ८ गतेदेखि हरेक शनिबार साप्ताहिकरुपमा धनगढी–बैतडी–धनगढी उडान हुने समिट एयरले जनाएको थियो । दसैँमा समेत यात्रु अभाव भएपछि अब भने यहाँ कहिले उडान हुने भन्नेबारे अनिश्चित भएको छ ।
उहाँले भन्नुभयो, “चाडपर्वका बेला यात्रु हुन्छन् र नियमित उडान गर्ने तयारी थियो तर अब यसपछि कहिलेदेखि उडान हुने भन्नेबारेसमेत अनिश्चित भएको छ ।”











