स्वस्थ रहने सूत्र

काठमाडौं:  स्वस्थ भएर बाँच्न पाउनु हरेक मानवको जन्मसिद्ध अधिकार हो। प्रकृतिले स्वस्थ भएर बाँच्न सबै व्यवस्था मिलाएको छ । तर, हाम्रै अज्ञानताले गर्दा हामी रोगको शिकार भइरहेका छौं।

हामी प्रकृतिसँग जति टाढा हुन्छौं, त्यति रोगको शिकार हुन्छौं। हाम्रो दिनचर्या जति प्रकृतिको नियमसंगत् हुन्छ त्यति नै निरोगी हुन्छौं। तल प्रस्तुत नियम पालना गरौं र निरोगीको बाटोमा अग्रसर होऔं। हरेक मानिस स्वस्थ जीवन बाँच्न चाहन्छ । समस्त भोग भोग्न चाहन्छ अनि यसका लागि सदैव तन्दुरुस्त एवं जवान रहने भित्री चाहना सँगाल्छ ।

मुखले बाहिर जेसुकै भने पनि हरेक मानिस समस्त रोग, शोक एवं कष्टबाट टाढा हुन चाहन्छ । अस्पताल धाउनुपर्ने, औषधी खानुपर्ने, शल्यक्रिया गर्नुपर्ने, उपचार गर्नुपर्नेजस्ता यावत् झन्झटबाट मुक्त रहन चाहन्छ ।

शरीर, मन र आत्मा ठीक छ भने मात्र स्वस्थ जीवनको कल्पना गर्न सकिन्छ । शरीर स्वस्थ छ भने मन पनि ठीक हुन्छ । मन ठीक छैन भने शरीरमा भारीपन आउँछ । मन ठीक छ भने शरीर पनि स्वस्थ भएको अनुभव गर्न सकिन्छ । शरीर, मन, बुद्धि र चित्त एकआपसमा परिपूरक छन् । एकको अस्वस्थताले अरूलाई पनि असर गर्दछ ।

यी चार चिज स्वस्थ हुन सकेमात्र मानिस पूर्णरूपमा स्वस्थता प्राप्त भएको भन्न सकिन्छ । शरीर, मन र बुद्धि सन्तुलित तथा विकसित र स्वस्थ हुनका लागि शरीरस्थित स्नायु, श्वासप्रश्वास, रक्तसञ्चार, पाचन, हड्डी आदि सबै प्रणालीहरू स्वस्थ र सबल हुनु आवश्यक छ । शरीर स्वस्थ्य हुन शरीरमा स्तफुर्त आउनुपर्‍यो, मन स्वस्थ हुन मानसिकता ठीक हुनुपर्‍यो, बुद्धि प्रखर हुन बौद्धिकता चाहियो र आत्मा जागरणका लागि एकाग्रता चाहियो ।

स्वस्थ कसरी रहने ?

१. राति १० बजेभित्र सुत्ने र बिहान सूर्योदयपूर्व उठ्ने गरौं।
२. निद्रा खुलेलगत्तै आँखा खोल्नुपूर्व ‘आज म सकारात्मक भएर दिन बिताउँछु’ भन्ने संकल्प गरौं।
३. आँखा नखोलीकन दायाँ कोल्टे फेर्दै उठौं र पँलेटी कससेर बसौं। ५–१० मिनेटसम्म स्वभाविक रूपमा चलिरहेको श्वास–प्रश्वासमाथि कुनै अवरोध नपुर्याई श्वासमै केन्द्रित ध्यान गरौं। हत्केला रगडेर तातो बनाई अनुहारमा हत्केलाहरूले मोलौं र हत्केलालाई हेर्दै बिस्तारै आँखा उघारौं।
४. दिसा गर्न जानु पहिले तामाको भाँडामा राखेको पानी १–२ गिलास पिऔं।
५. दिसाका लागि निश्चित समय बनाऔं। दिसा गर्दा जोड वा बल गरेर गर्ने नगरौं। दिसा गरिसकेपछि गुदद्वार १०–१५ पटक सङ्कुचन गर्ने गरौं।
६. दिसा वा पिसाब लागेपछि नरोकौं। रोक्ने बानीले पछि रोग निम्याउँछ।
७. दाँत मञ्जन गर्दा नरम ब्रसको प्रयोग गर्ने र हलुकासँग तल, माथि र घुमाएर मञ्जन गर्ने गरौं। मञ्जन गरेपछि औंलाले गिजा रगटेर सफा गर्ने गरौं। यसोगर्दा दाँत मजबुत हुन्छ।
८. दैनिक छोटो स्नान गरौं। खाना खानुभन्दा १ घन्टा पहिले, खाना खाएको ३ घन्टापछि र पसिना आएको छ भने सुकेपछि मात्र स्नान गरौं। खस्रो सुतीको कपडाले घर्षण गर्दै स्नान गर्ने गरौं।
९. समय र मौसमअनुकूल भएमा बिहान र बेलुकाको घाममा १५–२० मिनेट अतिआवश्यक कपडा मात्र लगाएर घाम ताप्ने गरौं।
१०. नियमित रूपमा स्वास्थ्य रक्षाका लागि बिहान १ देखि साढे १ घन्टासम्मको समय आफ्ना लागि निकालौं। सो समयमा आसन, प्राणायाम, ध्यान र व्यायाम गर्ने गरौं। व्यायामका रूपमा बिहान ३५ मिनेट जति हिँड्डुल÷मर्निङ वाक गरौं। यसका लागि प्राकृतिक, रमणीय, खुला र एकान्त स्थान हुनुपर्छ। हिँडडुल गर्दा गहिरो र लामो श्वास लिने र फाल्ने गरौं।
११. भोक लागेको बेला मात्र खाने र खाँदा पेटमा बोझ नहुने गरी चपाई–चपाई खाने गरौं।
१२. दिनको ३–४ लिटर पानी नियमित पिउने गरौं। १ घन्टामा १ गिलासका दरले पिउने गरौं। खाना खानुभन्दा आधा घन्टा पहिले र खाएको १ घन्टापछि मात्र, फलफूल खानुभन्दा आधा घन्टा पहिले र खाएको आधा घन्टापछि मात्र पानी पिउने बानी बसालौं।
१३. नास्तामा मौसम अनुसारको ताजा फलफूल, अंकुरित अन्न, मह–पानी वा कागती–पानी खाऔं। बिहानको खानाः चोक्कर भएको गहुँको रोटी, दलिया वा नफलेको चामल (ब्राउन राइस) र २–३ किसिमको तरकारी खाने गरौं।
१४. मैदाको सट्टा चोक्कर सहितको गँहु -जौको पिठो, सेतो भातको सट्टा ब्राउन राइस र सेतो चिनीको विकल्पमा खैरो चिनी-गुँड-खैरो सख्खर प्रयोग गर्ने गरौं।
१५. खानापछि १० मिनेट बज्रासनमा बस्ने गरौं। सुरुमा जति समय सकिन्छ त्यति बसौं। पछि समय बढाउँदै १० मिनेट पुर्‍याऔं।
१६. रातिको खाना सुत्नुभन्दा ३ घन्टा अगाडि खाने गरौं। खाना खाने ठाउँ शान्त राखौं। टिभी, रेडियो बन्द गरौं।
१७. भावनात्मक आवेग (रिस, दुःख, तनाव, पिर) शान्त भएपछि मात्र खाना खाने गरौं। प्रशन्न, शान्त, खुसी मनले खाना खाने गरौं।
१८. सुतीको सफा कपडा लगाउने गरौं। ऊनीको कपडा सुतीको कपडामाथि मात्र लगाउने गरौं। पेटी र पटुका हलुका कस्ने गरौं। हिल नभएको जुत्ता मात्र लगाऔं। हिल भएको जुत्ताले नसा, ढाड तथा गर्धन दुख्ने, महिलामा पाठेघरको रोग र अनियमित महिनावारीको समस्या हुन्छ।
१९. दिनमा सुत्ने बानी त्यागौं। सुत्नै परे बढीमा ३० मिनेट मात्र सुत्ने गरौं।
२०. तनावबाट मुक्त हुन सकारात्मक चिन्तन गरौं। सधँै आशावादी बनौं। सबैलाई प्रेम गर्ने र सहयोग गर्ने बानी बसालौं।

[sidebar name="button post"]