शेखर पक्षका नेताहरूको दाबीः पार्टीभित्र सहमति नभए कांग्रेसले २५ सिट पनि जित्दैन

काठमाडौं : नेपाली कांग्रेसका संस्थापन इतर पक्षधर नेताहरूले कांग्रेसभित्र राजा जन्मिएको आरोप लगाएका छन् ।

नेपाली कांग्रेसको शेखर कोइराला पक्षले दसैंको अवसरमा चियापान कार्यक्रम यस्तो आरोप लगाएका हुन् । बिहीबार विहान काठमाडौंको बत्तीसपुतलीमा कोइराला पक्षको खबरदारी अभियानद्वारा आयोजित चियापान कार्यक्रमा पार्टी महामन्त्री गगनकुमार थापालगायतका नेताहरु उपस्थित थिए ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले नेपालको लोकतन्त्र र राष्ट्रिय परिस्थिति नै चुनौतीपूर्ण रहेको बेलामा कांग्रेस भित्रै सही मूल्याङ्कन नहुनुको परिणाम गम्भीर हुनसक्ने चेतावनी दिए । उनले आगामी निर्वाचनका लागि उम्मेदवार छनोटमा सही मूल्याङ्कन र सही समीक्षा हुन नसके नेपालको राजनीतिले स्थिरता कायम गर्न नसक्ने बताए । नेता केसीले नेपाल अन्तर्राष्ट्रिय द्वन्द्वको अखडाको रूपमा स्थापित भइरहेको उल्लेख गर्दै देशलाई बचाउन नेपाली कांग्रेस एक हुनुको विकल्प नरहेको बताए ।

काँग्रेस नेता खेमराज केसीले समानुपातिक तर्फको उम्मेदवार सिफारिसमा संस्थापन पक्षले एकलौटी गरेको भन्दै आपत्ति जनाए । उनले अझैपनि सूची संशोधन गरी समानरुपमा टिकट वितरण गर्नसके नेपाली काँग्रेसले आगामी निर्वाचनबाट दुई तिहाईको सरकार बनाउन सम्भव रहेको दाबी गरे ।

नेपाली कांग्रेसका नेता धर्म परियारले टिकट वितरणमा समानुपातिक नभए र नेताहरू नसच्चिए आगामी निर्वाचनमा कांग्रेसले धेरै सिट जित्न नसक्ने बताए । परियारले प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाणले समानुपातिकमा आफ्ना श्रीमतीहरूलाई राखेकोप्रति आक्रोश व्यक्त गर्दै राजाको विरोध गर्नेहरू नै आज पार्टीका राजा बनेको आरोप लगाए ।

उनले सम्मानजनक टिकट वितरण नभए आगामी निर्वाचनमा नेपाली कांग्रेस २५ सिटमा खुम्चिनसक्ने बताए । परियारले केन्द्रको शक्तिको आडमा धनको प्रलोभन देखाएर कुर्सी र सत्ताका लागि मात्रै गठबन्धन गरिरहने र पार्टीलाई मिलाउन नसक्ने हो भने विरोधको विकल्प नभएको बताए ।

[sidebar name="button post"]