नवरात्रको नौ दिनसम्म कुन देवीको कसरी गर्ने पूजा आराधना ? हेर्नुहोस यस्तो छ नियम

१३ असोज । वैद्धिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दशैँघरमा विधिपूर्पक दीप, कलश स्थापना गरी षोडशोपचारले पूजा गर्नुपर्दछ । सोही कलशमा महाकाली, महालक्ष्मी महासरस्वती दुर्गा भगवतीको षोडशोपचारले आवाहन पूजन हुने गर्दछ । यसरी पूजनपश्चात् सप्तधान्य छर्नु पर्दछ । भगवती दुर्गा देवीका विभिन्न उपासना मन्त्रले आवाहन पूजन गरी दुर्गा सप्तशतीको पाठ पारायण नित्य गर्नु पर्दछ ।

पहिलो दिन

यदि लामो आयु र कुनै प्रकारको दीर्घ रोगबाट बच्नका लागि पहिलो दिन शैलपुत्रीको पूजा आराधना र गाईको घ्यूबाट बनाइएका परिकार चढाएमा आरोग्य प्राप्त हुन्छ ।

दोस्रो दिन

कुनै पनि प्रकारको बन्धनबाट मुक्ति पाउन ब्रह्मचारिणी माताको सख्खर चढाई पूजा आराधना तथा दान गरेमा हरेक प्रकारको अरिष्ट नाश हुने बताइएको छ ।

तेस्रो दिन

दुःख-कष्टबाट मुक्तिका लागि गाईको दूधबाट बनाइएका विभिन्न परिकारका प्रसाद भोग लगाउने तथा दान गरेर माता चन्द्रघण्टाको पूजा गरेमा माताको आशीर्वाद हामीमाथि सधैंभरि रहन्छ भन्ने कुरा बताइएको छ ।

चौथो दिन

चतुर्थी तिथिका दिन माता कुष्माण्डको पूजा आराधना गरेमा ज्ञान र बुद्धि प्रदान हुनुका साथै कुनै पनि प्रकारका वाणीमा दोष छ या नबोल्ने बालकहरूका लागि रोकिएको वाणी खुल्ने छ। उक्त तिथिमा मालपुवा अर्पण गरी पूजा गरेमा र मालपूवा दान गरेमा शुभ हुने कुरा उल्लेख गरिएको छ ।

पाँचौं दिन

पञ्चमी तिथिका दिन स्कन्धमाताको पूजा आराधना गरेमा व्यापार व्यवसायबाट सफलता तथा राज्यबाट पाउने सेवा तथा सुविधामा वृद्धिका साथै रोजगारीका लागि पनि राम्रो हुने कुरा बताइएको छ । यस दिनमा केराको भोग लगाएर पूजा आराधना गरेमा सफलता मिल्ने बताइएको छ ।

छैटौं दिन

आकर्षण, सुन्दरताका साथै मनले चाहेको व्यक्ति प्राप्तिका लागि कात्यायनी माताको पूजा आराधना गरेमा सफल हुने कुरा बताइएको छ । यदि घरमा कुनै अविवाहित व्यक्ति हुनुहुन्छ भने विवाहमा बाधा अवरोध परेको छ भने मह चढाएर माता कात्यायनीको पूजा आराधना गरेमा कार्यसिद्धि हुने कुरा पनि बताइएको छ ।

सातौं दिन

कुनै पनि प्रकारका मुद्दा मामिला तथा दुर्घटनाबाट छुटकाराका लागि सप्तमी तिथिका दिन कालरात्रि भगवतीको पूजाबाट सम्पूर्ण कष्ट नाश हुने कुरा बताइएको छ । कुनै पनि प्रकारका आकस्मिक विपत्तिबाट रक्षाको लागि यदि सख्खर दान गरेमा बाधा अड्चन नआउने शास्त्रमा बताइएको छ ।

आठौं दिन

महागौरी भगवतीको घटस्थापनाको आठौं दिन पूजा तथा आराधना गर्नुपर्ने कुरा बताइएको छ। उक्त दिन महागौरीको पूजा आराधना गरेमा सन्तान सुख मिल्ने कुरा पनि शास्त्रमा उल्लेख गरिएको छ । महागौरी भगवतीलाई नरिवल अर्पण गरेमा सम्पूर्ण सुख शान्ति प्राप्ति हुने कुरा पनि बताइएको छ ।

नवौं दिन

घटस्थापनाको नवौं दिन अर्थात् नवमीका तिथिका दिन घ्यू चढाएर पूजा आराधना गरेमा अकालमृत्युबाट बच्नको लागि र कुनै पनि प्रकारका नराम्रा समाचार सुन्न नपरोस् भन्न सिद्धिदात्री भगवतीको पूजा आराधना गर्ने कुरा शास्त्रमा बताइएको छ । यस दिन पायस अर्थात् गाईको दुधबाट बनाइएको खिर भोग लगाएमा हरेक प्रकारका कार्य सफल हुने उल्लेख गरिएको छ। यसरी स्थापना गरिएका सप्तधान्य क्रमशः बढ्दै जति राम्रा हुन्छन्, त्यति भगवती प्रशन्न हुनुहुन्छ भन्ने धार्मिक मान्यता छ ।

[sidebar name="button post"]