काठमाडौं: राप्रपाका नेता रवीन्द्र मिश्र काठमाडौं १ बाट निर्वाचन लड्ने तयारीमा छन् । उनले भोलि घोषणा गर्ने सामाजिक सञ्जालमार्फत् जानकारी गराएका छन् ।
मिश्रले शुक्रबार औपचारिक रुपमा आफ्नो उम्मेदवार घोषणा गर्ने कार्यक्रम तय गरेका छन् । दिउँसो साढे १२ बजे थापागाउँस्थित बानेश्वर ब्याङक्वेटबाट उम्मेदवारी घोषणा गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।
उनले नेकपा एमालेसँगको तालमेलका बारेमा अहिले छलफलकै क्रममा रहेकाले कुनै निर्णय भने नभएको बताएका छन् ।नेकपा एमालेले भने सत्ता गठबन्धनको अवस्था हेरेर मात्रै अन्य साना दल तथा समूहसँग तालमेलको मोडालिटी तय गर्ने जनाएको छ ।
अघिल्लो पटकको निर्वाचनमा मिश्र क्षेत्रनम्बर १ मै विवेकशील साझा पार्टीबाट चुनाव लडेका थिए । त्यसबेला तराजु चिह्नमा चुनाव लडेका मिश्रले १० हजार ११८ मत ल्याएका थिए भने विजयी भएका कांग्रेसका प्रकाशमान सिंहले १० हजार ९३७ मत ल्याएका थिए ।









