काठमाडौं: पानी र चियापछि सबैभन्दा बढी सेवन गर्ने कफी नै हो । नेपालमा पनि केही वर्षयता यसको चलन बढेको छ । पछिल्लो समय प्रायः सबैको घरमा कफी सेवन गर्ने गरेको पाइन्छ ।
आठऔं शताब्दी तिर इथियोपियाको कफा भन्ने प्रान्तबाट बाख्रा गोठलाले पत्ता लगाएको कफी विश्वमा पेट्रोलियम पदार्थपछि धेरै आर्थिक कारोबार हुने बस्तुमा दोश्रो नम्बरमा पर्छ।
कफी स्वास्थ्यबर्द्धक हुन्छ । कफीमा पाइने ‘एन्टिफाइब्रोटिक’ तत्वले लिभरसम्बन्धी रोगलाई निको पार्न सघाउने एक अध्ययनले देखाएको छ । त्यस्तै, कफीमा अत्यधिक मात्रामा काह्वेल र काफेस्तेरोल गरी दुई तत्व भएकाले लिभर रोग निको हुन मद्दत पुर्याउने गरेको हो । कफीको प्रयोगले शरीरमा इन्जाइमको मात्रा कम हुन्छ । लिभरमा अत्यधिक मात्रामा इन्जाइम भए यसले संक्रमण हुने वा खराब हुने सम्भावना बढी हुन्छ । बजारमा पाइने विभिन्न कफीमा शक्तिको क्यालोरी फरक–फरक हुन्छ ।
कफी सेवनबाट फाइदा
ब्रिटिश मेडिकल जर्नलमा छापिएको उक्त अनुसन्धानले कलेजोसम्बन्धी रोग, केही प्रकृतिका क्यान्सर र पक्षघातका कारण हुने मृत्युको जोखिम कम हुने देखाएको छ। तर अनुसन्धानकर्ताहरुले कफीकै कारण त्यस्तो भएको भन्ने पुष्टि भने गर्न सकेका छैनन्।
कफी नपिउनेको तुलनामा कफी पिउनेमा हृदयघात र मस्तिष्कघात जस्ता स्वास्थ्य समस्या हुने सम्भावना कम रहेको उल्लेख गरिएको छ।
गर्भवती अवस्थामा कफी पिउनु भने जोखिमपूर्ण हुनसक्ने निचोड उक्त समीक्षाको छ। अनुसन्धानकर्ताहरुले मानिसहरुलाई रोगबाट बच्न कफी सेवन नगर्न सुझाव दिएका छन् र आफूले पिउने कफीमा क्रिम र केक नमिसाउन भनेका छन्।
कफी सेवनले आयु बढ्ने कुरा अनुसन्धानहरूले देखाएका छन् । दैनिक १ वा २ कप कफी सेवनले महिला १२ प्रतिशत र पुरुष १६ प्रतिशत कम उमेरमा मृत्यु हुने सम्भावनालाई कम गर्छ ।
कफी सेवनले अल्जाइमरस्, पार्किन्सन, मानसिक तनावलगायतका रोगको जोखिम २० देखि ५३ प्रतिशतसम्म कम हुन्छ ।शरीरमा शक्तिको संरचना वृद्धि गरी अल्छीपन हटाउँछ । कफीमा भएको क्याफिनले फ्याट बर्निङलाई उत्तेजित गराई ३ देखि ११ प्रतिशत मेटाबोलिक रेट बढाउन मद्दत गर्नुका साथै तौल नियन्त्रणमा सहयोग गर्छ ।
फ्याटी लिभर भएका र मद्यपान नगर्ने व्यक्तिले दैनिक दुई कप कालो (फिका) कफी सेवन गर्दा फाइदा हुन्छ ।
कफीका बेफाइदाहरू
३ देखि ५ कपभन्दा बढी कफी सेवन गर्दा मुटु रोगीलाई समस्या हुनसक्छ । बढी मात्रामा कफी सेवन गर्दा मस्तिष्कसँग सम्बन्धित समस्या हुन सक्छ ।
पखाला लाग्ने, दिसा पातलो हुने, खुलेर दिसानहुने, अपच हुने र पेटमा समस्या भइरहने हुनसक्छ । कोलाजिन उत्पादनमा कमी हुने, छाला, शरीर, नङ आदिमा नराम्रो प्रभाव पर्न सक्छ ।
गर्भवतीले बढी कफीको सेवन गरे गर्भपतन हुन सक्छ । दमका रोगी र एन्टिबायोटिक वा एन्टिडिप्रेसनको औषधि सेवन गरिरहेकाहरूलाई कफी सेवनले समस्या हुन सक्छ । पेटको समस्या वा छाती पोल्ने व्यक्तिले खाली पेटमा कफी सेवन गर्दा हानि हुनसक्छ ।









