काठमाडौँ । मकवानपुर र रुकुम पूर्वमा भएको यात्रुबस दुर्घटनामा १२ जनाको मृत्यु भएको छ भने ३८ घाइते छन् ।
बिहीबार ओरालोमा ब्रेक नलागेर बस खस्दा मकवानपुरको भीमफेदी गाउँपालिका-६ जुरिखेतमा ७ र रुकुम पूर्वको भूमे गाउँपालिका-३ क्याङ्सीबगरमा ५ जनाको मृत्यु भएको हो ।
काठमाडौं उपत्यकामा चल्ने बा३ख ७८५८ नम्बरको मिनीबस ३३ यात्रु लिएर बल्खुबाट बिहीबार करिब ११ बजे फर्पिङ–कुलेखानीको बाटो हुँदै हेटौंडातर्फ अघि बढ्यो। उक्त बसका लागि हेटौंडा–कुलेखानी–काठमाडौं सडक नयाँ थियो। यो बाटोको रुट अनुमति पनि थिएन। तर, आधा दर्जन प्रहरी चेकपोस्ट पार गर्दै भीमफेदी–६ स्थित जुरी खेत आइपुगेको बसले यात्रुले गन्तव्यसम्म सकुशल पुर्याउन सकेन।
दुर्घटनामा २६ जना घाइते भएको मकवानपुर प्रहरीले जनाएको छ। २३ जनाको उपचार हेटौंडा अस्पतालमा भइरहेको छ। गम्भीर घाइते तीन जनालाई भरतपुर पठाइएको मकवानपुर प्रहरीले जनाएको छ।









