संवैधानिक विधिबाटै निकास खोज्न पत्रकार महासंघको सुझाव

काठमाडौं: नेपाल पत्रकार महासंघले पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमप्रति ध्यानाकर्षण भएको बताएको छ।

महासंघले बुधबार एक विज्ञप्ती जारी गर्दै देशमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमप्रति गम्भीर ध्यानार्कषण भएको जनाएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक पारित नगरेपछि राजनीतिक माहोल तातिइरहेका बेला महासंघले विज्ञप्तिमार्फत  द्वन्द्व उत्पन्न हुन नदिनतर्फ जिम्मेवार बन्न सबै पक्षलाई आग्रह गरेको हो ।

‘जननिर्वाचित संविधान सभाबाट जारी भएको नेपालको संविधान सबैले अक्षरशः पालना गर्नुपर्छ भन्ने पक्षमा महासंघ सधैँ उभिँदै आएको छ’ महासचिव रोसन पुरीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘संविधानको मर्म र भावनाको उच्च कदर गर्दै संवैधानिक सर्वोच्चता कायम गर्ने विषयमा महासंघ  सधै क्रियाशील रहँदै आएको छ। संविधानले निर्दिष्ट गरेको सीमा र मर्यादाभित्र रही सबै पक्षले संवैधानिक व्यवस्थाहरूलाई पूर्णतः पालना गर्नपर्दछ भन्ने कुरालाई महासंघ विशेष जोड दिन चाहन्छ।’

पछिल्लो घटना क्रमलाई संवैधानिक विधिबाट निकास दिन पनि महासंघले आग्रह गरेको छ । ‘पछिल्लो घटना क्रमलाई संवैधानिक विधिबाट निकास दिइ कुनै प्रकारको द्वन्द्व उत्पन्न हुन नदिनतर्फ जिम्मेवार बन्न महासंघ सम्बन्धित पक्षहरूलाई आग्रह गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।

[sidebar name="button post"]