काठमाडौं : सत्ता गठबन्धनका शीर्ष नेतासहित सिट बाँडफाँट कार्यदलको बैठक बसिरहेको छ।
सोमबार समानुपातिकको सूची निर्वाचन आयोगमा बुझाएका सत्ता गठबन्धनका दलहरुले प्रत्यक्षतर्फको भागबण्डाका लागि छलफललाई पुनः निरन्तरता दिएका हुन् । सत्ता गठबन्धनका शीर्ष तहका नेता सहित सिट बाँडफाँट कार्यदलको बैठक अहिले प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ ।
गठबन्धनले भदौमा प्रत्यक्ष तर्फको १६५ सिटको टुंगो लगाउने बताएको थियो। तर हालसम्म पनि कुनै पनि सिटमा सहमति जुट्न सकेको छैन्।
एक महिनादेखि सिट बाँडफाँटको विषयमा शीर्ष नेताहरूबीच पटकपटक छलफल भएको छ । तर, नेताहरू आ–आफ्नो अडानबाट पछि नहटेपछि सिट बाँडफाँटको विषय टुंगिन समय लागेको हो । प्रत्यक्षतर्फको सिट भागबण्डामा सहमति जुटाउन फेरि गठबन्धनका दलहरूले छलफललाई तीव्रता दिएका छन् ।
२० साउनमा बसेको पाँचदलीय गठबन्धनका शीर्ष नेताहरुको बैठकले प्रदेश र प्रतिनिधिसभा चुनावमा तालमेल गर्ने निर्णय गर्दै कार्यदल गठन गरेको थियो । ११ सदस्यीय कार्यदलको संयोजक नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला छन् ।
कार्यदल बैठकमा नेपाली कांग्रेसबाट सिटौलासहित महामन्त्री गगनकुमार थापा र ज्ञानेन्द्रबहादुर कार्की छन् । माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरूङ, नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट रामसहाय यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य छन् ।









