काठमाडौँ । स्थानीय तहको चुनावमा उम्मेदवार भएर खर्च विवरण नबुझाउने महानगर र उपमहानगर पालिकामा निर्वाचन भएका चर्चित अनुहार समेत परेका छन्।
निर्वाचन आयोग ऐन दफा २६ को उपदफा १ अनुसार काठमाडौं महानगरका मेयर बालेन्द्र शाहसहित १ लाख २३ हजार ६२४ उम्मेदवारले निर्धारित समयमै खर्च विवरण नबुझाएको वा ढिलो गरी बुझाएपछि आयोगले जरिवाना तोकेको हो ।
ललितपुर महागरपालिकाका प्रमुख चिरिबाबु महर्जनबाहेक बाँकी पाँचवटा महानगरपालिकाका प्रमुखलाई आयोगले साढे सात लाखका दरले जरिवाना गरेको छ।
उपप्रमुख अञ्जली शाक्य बज्राचार्य र पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङले मात्रै मत परिणाम सार्वजनिक भएको ३० दिनभित्रै खर्च विवरण पेस गरेका छन् । पोखराका प्रमुख धनराज आचार्यले ३० दिनभन्दा पछि खर्च विवरण पेस गरेका थिए । खर्च विवरण नबुझाउनेमा भरतपुर महानगरकी प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारी, विराटनगर महानगर प्रमुख नागेश कोइराला, उपप्रमुख शिल्पा कार्की, वीरगन्ज महानगर प्रमुख राजेशमान सिंह, उपप्रमुख इम्तियाज आलम र काठमाडौं महानगरकी उपप्रमुख सुनीता डंगोलले खर्च विवरण पेस गरेका छैनन् ।
वैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचनमा उम्मेदवार भई कानून बमोजिम बुझाउनु पर्ने निर्वाचन खर्चको विवरण नबुझाउनेलाई आयोगले कारबाही गरेको हो ।
आयोगले शुक्रबार जारी गरेको विज्ञप्ति अनुसार निर्वाचन आयोग ऐन, २०७३ को दफा २६ को उपदफा ९१० बमोजिम अनुसार हुने गरी कारबाहीस्वरुप जरिवाना गर्ने निर्णय गरेको छ। त्यस्ता उम्मेदवारलाई ६ महिनाभित्र जरिवाना बुझाउन आयोगले सूचनामा उल्लेख गरेको छ।
कसलाई कति जरिवाना ?
(क) महानगरपालिकाका प्रमुख र उपप्रमुख पदका उम्मेदवारहरूलाई जनही
रु. ७,५०,०००।-(सात लाख पचास हजार) रुपैयाँका दरले जरिवाना गर्ने,
(ख) महानगरपालिकाका वडा अध्यक्ष, वडा सदस्य, महिला सदस्य र दलित महिला सदस्य पदका उम्मेदवारहरूलाई जनही रु ३,००,०००।-(तीन लाख) रुपैयाँका दरले जरिवाना गर्ने,
(ग) उपमहानगरपालिकाका प्रमुख र उपप्रमुख पदका उम्मेदवारहरूलाई जनही
रु. ५,५०,०००।-(पाँच लाख पचास हजार) रुपैयाँका दरले जरिवाना गर्ने,
(घ) उपमहानगरपालिकाका वडा अध्यक्ष, वडा सदस्य, महिला सदस्य र दलित महिला सदस्य पदका उम्मेदवारहरूलाई जनही रु. 2,50,000।-(दुइ लाख पचास हजार) रुपैयाँका दरले जरिवाना गर्ने,
(ङ) नगरपालिकाका प्रमुख र उपप्रमुख पदका उम्मेदवारहरूलाई जनही
रु. ४,५०,०००।-(चार लाख पचास हजार) रुपैयाँका दरले जरिवाना गर्ने,
(च) नगरपालिकाका वडा अध्यक्ष, वडा सदस्य, महिला सदस्य र दलित महिला सदस्य पदका उम्मेदवारहरूलाई जनही रु. २,००,०००।-(दुई लाख) रुपैयाँका दरले जरिवाना गर्ने,
(छ) गाउँपालिकाका प्रमुख र उपप्रमुख पदका उम्मेदवारहरूलाई जनही रु. ३,५०,०००।-(तीन लाख पचास हजार) रुपैयाँका दरले जरिवाना गर्ने,
(ज) गाउँपालिकाका वडा अध्यक्ष, वडा सदस्य, महिला सदस्य र दलित महिला सदस्य पदका उम्मेदवारहरूलाई जनही रु १,५०,०००।-(एक लाख पचास हजार) रुपैयाँका दरले जरिवाना गर्ने ।









