संसदको चारण अनुगमन समितिको कार्यालय संघीय संसद्, सिंहदरवारमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेविरुद्ध उजुरी परेको छ । आलेले प्रतिनिधिसभा सदस्यको आचार संहिताविपरित गतिविधि गरेको भन्दै उनीमाथि कारबाहीको मागसहित उजुरी परेको हो ।
उजुरीमा भनिएको छ, ‘डोटीका माननीय सांसद प्रेम आलेले विभिन्न व्यक्तिसँग टेलिफोन तथा प्रत्यक्ष भेटघाटका विषयमा अश्लील शब्द प्रयोग गरेको अडियो बाहिर आएका छन् । सांस्कृतिक मूल्य मान्यताको जगेर्ना गर्दै संस्कारयुक्त समाज निर्माण गर्ने जिम्मा पाएको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएका आलेज्यूले टेलिफोन वार्ताहरूमा अश्लील शब्द मात्रै प्रयोग गर्नु भएन ठेगान लगाउने सम्मको धम्की दिनुभयो ।’












