Ad #144479

७ फाल्गुन, काठमाण्डौ । आज फागुन ७ गते प्रजातन्त्र दिवस । एक सय चार वर्षीया जहानियाँ राणा शासन अन्त्य भई देशमा प्रजातन्त्र बहाली भएको दिन फागुन ७ को स्मरणमा आज ७२ औँ प्रजातन्त्र दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदैछ । प्रजातन्त्र स्थापनाका लागि भएको सङ्घर्षकै क्रममा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठले वि.सं १९९७ माघमा जीवन आहुति दिएका थिए ।

प्रजापरिषद् नामक राजनीतिक दल भूमिगत रूपमा स्थापना गरी प्रजातन्त्र स्थापनाका लागि जनतामा जागरण ल्याएको अभियोगमा उनिहरूलाई तत्कालीन राणा शासकले मृत्युदण्ड दिएको थियो । नेपाली राष्ट्रिय काँग्रेस र नेपाल प्रजातन्त्र काँग्रेसको २००६ सालमा एकीकरणपछि बनेको नेपाली काँग्रेसका संस्थापक नेता बिपी कोइरालाको नेतृत्वमा भएको सशस्त्र र निर्णायक आन्दोलनले नेपालमा २००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापना गरेको थियो ।

यसै अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा ५ सय १ जना कैदीको कैद मिनाहा र १२ जना व्यक्तिहरुलाई सजाय माफी गरिएको छ ।

राष्ट्रपति कार्यालयले शुक्रबार एक विज्ञप्ती जारी गर्दै मुलुकी अपारध संहिता २०७४ को दफा ४५ को उपदफा ९४० तथा बालबालिका सम्बन्धी ऐन, २०७५को दफा ३६ को उपदफा ९४० र फौजदारी कसूर नियमावली २०७६ को नियम ३ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा शनिबार देखि लागू हुने गरी ५०१ जना कैदीहरुको भुक्तान हुन बाँकी कैद र मुलुकी फौजदारी कार्यविधि संहित २०७४ को दफा १५९ बमोजिम मन्त्रिपरिषदको सिफारिसमा १२ जना व्यक्तिहरुलाई फैसलमा बमोजिम सजाय माफी भएको राष्ट्रपति कार्यालयद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।