हामी एक्लै हिँड्ने अहंकार कसैले पनि नगरौं, हामी मिलेरै हिँड्ने हो : प्रचण्ड

२४ मंसिर, काठमाण्डौ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा पूर्व प्रधानमन्त्रीको संख्या धेरै भए पनि यी सबैले एकले अर्कालाई प्रधानमन्त्री बनाएको बताएका छन् ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटन समारोहमा उनले सहकार्यको संस्कार अनुसार एकले अर्कालाई प्रधानमन्त्री बनाएका कारण नेपालमा पूर्व प्रधानमन्त्रीको संख्या धेरै भएको बताए ।

पूर्ववक्ता भारतीय जनता पार्टीका एक नेताले एउटै मञ्चमा यति धेरै प्रधानमन्त्री देख्न पाएको भन्दै गरेको टिप्पणीप्रति लक्षित गर्दै प्रचण्डले भने, ‘उहाँ भर्खरै यहाँबाट गइसक्नु भएको छ, म उहाँलाई यी सबै पूर्व प्रधानमन्त्री एकले अर्कालाई बनाएका हुन् भन्न चाहन्थेँ ।’ उनले नेपालमा यस प्रकारको अनौठो संस्कृति विद्यमान रहेको पनि बताए । आफूहरुले आपसमा प्रतिस्पर्धा पनि गर्ने गरेको छर जरुरी पर्दा एकले अर्कालाई प्रधानमन्त्री पनि बनाउने गरेको उनको भनाइ थियो ।

उनले शान्ति सम्झौताका बाँकी काम सक्न मात्र होइन, परिर्वतनलाई संस्थागत गर्न पनि कांग्रेस र माओवादी केन्द्रबीच गहिरो एकता जरुरी रहेको बताए । ‘कहिलेकाहीँ म सुन्छु, साथीहरु एक्लै हिँड्ने कुरा गर्नुहुन्छ,’ उनले अघि भने, ‘हामी एक्लै हिँड्ने अहंकार कसैले पनि नगरौं । हामी मिलेरै हिँड्ने हो ।’

राजनीतिक प्रतिस्पर्धा गरे पनि त्यो प्रतिस्पर्धाभित्र एकता खोजिराख्नैपर्ने हुन्छ । २०४६ सालको जनआन्दोलन, बृहत शान्ति सम्झौता र ०६२/६३ को सफलता एकताको परिणम भएको भन्दै उनले एक्लै हिँड्ने अहंकार गर्दा ओरालो यात्रा सुरु हुने बताए ।

[sidebar name="button post"]