सामाजिक सञ्जालमा नाबालिकाको चरित्र हत्या गर्ने एक पक्राउ

३ मंसिर, काठमाण्डौ। नेपाल प्रहरीले सामाजिक सञ्जाल इन्स्टाग्राम तथा फेसबुकमार्फत नाबालिकाको चरित्र हत्या गर्ने एकजनालाई पक्राउ गरेको छ ।

प्रहरीको साईबर ब्यूरोले सामाजिक सञ्जाल इन्स्टाग्राम तथा फेसबुकमार्फत नाबालिका तथा युवतीलाई साथी बनाएर धाकधम्की देखाई नग्न तस्बीर तथा भिडियो पठाउन लगाएर पीडा दिने काठमाडौँ महानगरपालिका–२२ भोटेबहालका २० वर्षीय लव खड्गीलाई बिहीबार पक्राउ गरेको हो ।

ब्यूरोका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नविन्द अर्यालले सामाजिक सञ्जालको दूरुपयोग गरी चरित्र हत्यामा सङ्लग्न भएकाले खड्गीलाई बिहिबार पक्राउ गरी आज सार्वजनिक गरिएको जानकारी दिनुभयो ।

प्रहरीले विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौँको अनुमति लिएर पक्राउ गरेको हो । पक्राउ खड्गीलाई जिल्ला अदालत काठमाडौँको आदेशअनुसार पाँच दिन म्याद थप गरी अनुसन्धान गरिरहेको प्रवक्ता अर्यालले बताउनुभयो ।

[sidebar name="button post"]