२१ असोज, काठमाण्डौ। हाल भारतको पश्चिम बंगाल तथा आसपासतिर अवस्थित न्यून चापीय क्षेत्रको प्रभाव नेपालमा परेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
आज दिउँसो पनि देशका केही स्थानमा मेघगर्जन/ चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ महाशाखाले जनाएको छ ।त्यस्तै साँझ देशभर आंशिकदेखि सामान्य बदली रही लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/ चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
अक्टोबर २ मा बाहिरिसक्नु पर्ने मनसुन बाहिरिन केही दिन लागेकाले पनि वर्षाको क्रम नरोकिएको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कम्तीमा आगामी शनिबारसम्म देशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ ।












