१४ असोज, काठमाण्डौ। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सङ्घीय संसद्को गतिरोध अन्त्यका लागि सर्वदलीय बैठक बोलाएका छन्।
बैठक बिहान १० बजे प्रधानमन्त्री निवास वालुवाटारमा बस्ने देउवाको सचिवालयले जनाएको छ । बैठकमा संसदमा भएका सबै दललाई डाकिएको छ । सचिवालयका अनुसार बैठकमा संसदको अवरोध अन्त्य गर्ने विषयमा छलफल हुनेछ ।
आफूले कारबाही गरेका १४ सांसदलाई पदमुक्त नगरेर सभामुखले दल विभाजनमा सहयोगी भूमिका खेलेको भन्दै एमालले संसदको चालु अधिवेशनमा अवरोध गर्दै आएपछि प्रधानमन्त्री देउवाले विपक्षी दललाई विश्वासमा लिने रणनीति बनाएका हुन् । यसका लागि उनले दुई पटक कानून मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पठाएर पनि सम्बन्ध सुधारको प्रयत्न गरेका थिए ।












