Ad #144479

७ भदौ, काठमाण्डौ। जल तथा मौसम पूर्वानुमान महाशाखाले देशभरको मौसममा साेमबार सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जनाएको छ।

महाशाखाले आज नेपालमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ। न्युन चापीय रेखा नेपाल भन्दा केही दक्षिण तिर रहेको जनाएको छ ।अहिले बिहान देशभर सामान्य बदली रही प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम खालको वर्षा भइरहेको छ।

आज दिउँसो देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना छ।

त्यस्तै राति पनि देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशको एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाले पहाडी भूभागमा भूक्षय, पहिरो र गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउन अनुरोध गरेको छ ।