पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने २ हजार ४ सय बढी सवारी साधन नियन्त्रणमा

प्रहरीले निषेधाज्ञा उल्लंघन गर्ने २ हजार ४ सय बढी सवारी साधनलाई नियन्त्रणमा लिएको छ ।

७ सय ५४ वटा गाडी र १ हजार ६ सय ८८ वटा मोटरसाइकल रहेका छन् । नियन्त्रणमा लिएका सवारी साधनहरुलाई आवश्यक सोधपुछ पश्चात छोडिने गरिएको छ । विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने २ हजार ४ सय ४२ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनद्वारा जारी गरिएको निषेधाज्ञा उल्लंघन गर्ने १ सय ११ जनालाई कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ बमोजिम जम्मा १३ हजार ६ सय रुपैयाँ जरिवाना गरिएको छ । सो क्रममा २ हजार ३ सय ५ जनालाई रोकी सम्झाई बुझाइ छाडिएको छ ।

साथै नयाँ भेरियन्ट सहितको कोभिड(१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोइ ?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा २ सय ७२ जनालाई निःशुल्क मास्क वितरण गरिएको प्रहरीले जनाएको छ । कार्यक्रम अन्तर्गत हालसम्म जम्मा ४ लाख ५८ हजार ६ सय ५१ जनालाई निःशुल्क मास्क वितरण गरिएको छ ।

[sidebar name="button post"]